२०७६ चैत्र २८ गते

'राम्रो सामुदायिक विद्यालय हेर्ने इच्छा भए हाम्रो विद्यालयमा स्वागत छ'

डा. टिकाराम भट्ट

 

डा. टिकाराम भट्ट
प्रधानाध्यापक
साङ्ला बालकुमारी मावि, तारकेश्वर, काठमाडौं



विद्यालयको समग्र अवस्था कस्तो छ ?
हाम्रो विद्यालयको समग्र अवस्था अपेक्षित रुपमा राम्रो रहेको छ । भौतिक रुपमा हामी लगभग पूर्ण छौं । हामीसँग तीनवटा पक्की भवन रहेका छन् । शौचालय, स्वच्छ  खानेपानीलगायत सबै कुरा राम्रो छ ।  शैक्षिक अवस्था पनि विस्तारै गुणस्तरियतातिर लम्किदै रहेको छ । साना नानीहरु शनिवार पनि विद्यालय आउन चाहेको कुरा अभिभावकहरु बाट सुनिएको छ । महत्वपूर्ण कुरा त गत चैत्र १ गते शनिवार अन्य कक्षाहरुको परीक्षा चलिरहेको थियो साना नानीहरुलाई लिएर केही अभिभावकहरु आउनुभयो र भन्नुभयो बच्चाहरु घरमा बस्नै  मानेनन् । यसबाट नै बुझ्न सकिन्छ  विद्यालयको समग्र अवस्था । त्यस्तै समुदाय सँग पनि राम्रो सम्बन्ध  विकास भईरहेको छ । आशा गरौं केही समयमा परिवर्तनका संकेतहरु अवश्य देखिनेछन् ।

कक्षाकोठालाई बालमैत्री र सिकाइमैत्री बनाउन विद्यालयमा के प्रयास भएको छ ?
कक्षा कोठालाई पूर्ण रुपमा बालमैत्री बनाउने प्रयासमा हामी सबै शिक्षकहरु लागि परेका छौं । जस्तो कि दण्डनरहित शिक्षण, शिक्षकहरुको अभिभावकत्वको भूमिका, डर र त्रास रहितको वातावरण, कक्षा कोठाको सजावट आदि । त्यस्तै सिकाइमैत्री बनाउन छलफल र प्रस्तुति, परियोजना कार्य, समूह कार्य, गृहकार्य परीक्षण, निरन्तर विद्यार्थी मूल्याङ्कन, प्रदर्शन पाटीको व्यवस्था, भित्तेपत्रिका प्रकाशन विभिन्न सहक्रियाकलापहरुको सञ्चालन आदि जस्ता कार्यहरु गरिएका छन् । अझै भन्नुपर्दा समयको पालनामा हामीले विशेष जोड दिएका छौं । हाम्रा शिक्षक साथीहरु घण्टी  बज्नासाथ समयमै कक्षामा पसेर पुरा समय कक्षा कोठामा नै बिताउनुहुन्छ । यसका लागि त प्रअको भन्दा  पनि शिक्षक साथीहरुको नै महत्वपूर्ण योगदान रहेको छ ।

सिकाइस्तरको अवस्था के छ ?
तुलनात्मक रुपमा सिकाइको स्तर मध्यम नै रहेको छ । एसइइ तथा आधारभूत परीक्षाहरुको उपलब्धि स्तर पनि राम्रै रहेको छ । अतिरिक्त क्रियाकलापहरुमा पनि हाम्रा विद्यार्थीहरुले जिल्लास्तरिय प्रतियोगिताहरुमा विभिन्न विधाहरुमा जित हासिल गरिरहेको अवस्था छ । खासगरि हाम्रो ध्यान अहिले नर्सरी, केजी तथा साना कक्षाहरुमा केन्द्रित छ । यसको कारण संस्कारयुक्त शिक्षण प्रदान गर्नु नै हो । हाम्रा पालामा टेलिभिजन, मोबाइल तथा सामाजिक सञ्जाल जस्ता कुराहरु थिएनन् जसले गर्दा हाम्रो ध्यान पढाइमा मात्रै केन्द्रित हुन्थ्यो तर अहिलेका बालबालिकाहरु जन्मिदैमा मोबाइल चलाउन जान्ने भएर आएका हुन्छन् ।

अनि हामी पुरानै ढर्राबाट चलेर हुन्छ र ? त्यस्तैगरी हामी त अलि डर र त्रासको वातावरणमा नै पढेका हौं नि अहिलेको समय भनेको  शिक्षक हरुले पनि विद्यार्थीहरुसँग मित्रवत व्यवहार गर्ने समय हो । यो कुरा व्यवहारमा उतार्न निकै कठीन भईरहेको अवस्था छ । अहिलेको समय भनेको विद्यार्थी भाइबहिनीहरुमा नैतीक शिक्षाको निकै ठूलो खाँचो महशुस गरिएको समय हो । हाम्रा पालामा धेरै सुविधाहरु थिएनन् तर अहिलेको अवस्था अलि फरक रहेकोले उनीहरुले सानैदेखि आफ्नो दायित्व के हो भन्नेम बुझ्नुपर्ने आवश्यकता रहेको छ । हामीले खासगरि स्वनिर्देशित सिकाइमा बढी जोड दिनुपर्ने आवश्ययकता रहेको छ जुन कुरा सानो उमेर देखि नै सिकाउनु पर्ने हुन्छ । तसर्थ यिनै कुराहरुमा हामी केन्द्रिकृत भएर लागी परेका छौं ।

सामुदायिक विद्यालयको अवस्था देशभर खस्किदैं गईरहेको भनिन्छ । यसको कारण के हो जस्तो लाग्छ ?
म यो विषयमा अलि फरक मत राख्द छु । सबै भन्दा पहिले त हामीले सामुदायिक विद्यालयमा कति र कस्तो लगानी गरेका छौं त्यसमा ध्यान दिनु आवश्यक छ । लगानी अनुसारको अपेक्षित परिणामहरु आएकै छन् जस्तो लाग्छ । यो विषयमा कुरा गर्दा तपाईंले इंगित गर्न खोजेको कुरा संस्थागत विद्यालयहरुको एसइइ परीक्षामा धेरै विद्यार्थीहरुको नतिजा राम्रो आएको भन्न खोज्नु भएको होला । मेरो विचारमा निजी र सामुदायिक विद्यालयहरुको तुलना गर्नु नै श्रेयष्कर हुँदैन । निजी विद्यालयका विद्यार्थीहरुको नतिजा के कारणले राम्रो आयो भन्ने बारेमा गहन रुपमा अध्ययन भएको छ र ? एसइइमा ए प्लस ल्याउने विद्यार्थीहरु पनि उच्च  शिक्षामा सी ल्याएका वा अनुत्तीर्ण भएका थुप्रै उदाहरणहरु हामीले देखेका छौं । महत्वपूर्ण कुरा त किन सामुदायिक विद्यालयको स्तर खुस्किदै गएको छ भनेर अनुसन्धान गर्नुपर्छ अनि त्यहि अनुसार अगाडि बढ्नुपर्छ ।

खासगरी अहिले केही वर्षयता मात्र सरकारले सामुदायिक विद्यालयहरुमा शिक्षकको तलबभत्ता वाहेक छात्रवृत्तिलगायत अन्य आर्थिक सहयोग गरेको अवस्था रहेको छ । तलब भत्ता र निःशुल्क पाठ्यपुस्तकले मात्र विद्यालयको शिक्षा सुधार्न सकिदैन त्यसभित्र अरु कुराहरुको पनि आवश्याकता पर्दछ । सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने प्रायःजसो विद्यार्थीहरुको घरको आर्थिक अवस्था निकै कमजोर छ । कतिपय अवस्थामा विद्यार्थीहरु बिहान खाना नै नखाइ आएका अवस्था पनि छन् । हामीले उनीहरुको समस्यामा पनि ध्यान दिनु पर्यो नि होइन र ? अर्को कुरा शिक्षा र कर्मचारीतन्त्र फरक कुरा हुन् ।  हाम्रो देशको शिक्षा खस्किनुको प्रमुख कारण भनेको शिक्षामा कर्मचारी तन्त्र र राजनिति हावी हुनु नै हो । जसले गर्दा नीति नियमहरु बन्छन् तर कार्यान्वयन हुँदैनन् । अनि अर्को कुरा, अफिसको काम र विद्यालयमा गरिने कार्यहरु फरक कुराहरु हुन् । विद्यालयका लागि बन्ने नीति नियमहरुमा प्रत्यक्ष रुपमा विद्यालयमा कार्यरत जनशक्तिहरुको ठूलो उपस्थिति हुन जरुरी छ । महत्वपूर्ण कुरा चाँही हामी काम भन्दा कुरा धेरै गर्छौं । अरुलाई दोष दिन्छौं । तर, आफ्नो स्वमूल्याङ्कन कहिल्यै गर्दैनौं । अहिले विद्यालयहरु स्थानीय सरकारको मातहतमा छन् तर पनि निकै कम स्थानीय तहले मात्रै शिक्षामा विविध लगानी गरेका छन् । विद्यालयहरुमा अनुगमन भएकै छैनन्,  विद्यालयहरुमा के कस्ता समस्याहरु छन् भन्ने अनुसन्धान गरिएका छैनन् ।

धेरै निर्णयहरु आसेपासेका प्रवुद्ध भनिने मानिसहरुका धारणामा तय गरिन्छन् । सभा सेमिनार गरेर विचारहरु संकलन गरेर विश्लोषण गरिएका छैनन् । काम गर्नेहरु एक्ला हुन्छन् । आफ्नो क्षेत्रका शैक्षिक जनशक्ति पहिचान गरिएका छैनन् । पुरस्कार र सजाय भन्ने कुराको अवमूल्यन भईरहेको छ । त्यसैगरी, शिक्षकहरुले पढाएनन् भनेर गाली गरिन्छ त्यसको मूलभूत कारण के होला भनेर अनुसन्धागन गरिएको छैन् । शिक्षकका कार्यहरु केके हुन भनेर लिखित रुपमा करार गरिएका छैनन् । तसर्थ यसका धेरै कारणहरु छन । समग्रमा भन्नु  पर्दा सरकारले नीति बनाउदा शहरी क्षेत्रका दुईचारवटा विद्यालयहरुलाई हेरेर हुँदैन गाउँगाउँ तथा दूरदराजका विद्यालयहरुको पनि अध्ययन गर्नुपर्दछ, अभिभावकहरुका लागि चेतनामुलक कार्यहरु गर्नुपर्दछ । अर्कोकुरा, अंग्रेजी मोहले गर्दा शहरी क्षेत्रमा स्थानीय बालबालिकाहरु संस्थागत विद्यालयमा जान बाट रोक्न सानोकक्षा देखि नै अंग्रेजी बोल्न र लेख्न सक्ने पोख्त शिक्षकहरु मात्र नियुक्ति गर्ने व्यवस्था गर्नु पर्दछ । शिक्षक सेवा आयोग पनि समयानुकुल परिवर्तन हुनुपर्दछ । समस्या निकाल्ने भन्दा पनि समाधान लिएर आउने वातावरणको सिर्जना गर्नुपर्दछ अनि  सामुदायिक विद्यालयको स्तर आफै माथि लाग्छ ।

अभिभावकहरुले त अझैपनि सामुदायिक विद्यालयलाई पत्याएको देखिदैन नि ?
यो कुरा धेरै हदसम्म सत्य छ । मैले अघि नै भने नि यसको एउटा प्रमुख कारण भनेको अंग्रेजी मोह हो । दोस्रो कुरा सामुदायिक विद्यालयहरुमा आफ्ना छोराछोरीहरु भर्ना गर्दा समाजमा तल परिन्छ कि भन्ने भय पनि हो । होला केही सामुदायिक विद्यालयहरुका कमजोरीहरु पनि होलान् तर यसको अर्थ सामुदायिक विद्यालयहरु कामै नलाग्नी भएका त होइनन् होला । तसर्थ यसका लागि स्थानीय तहबाट पहल गरिनुपर्छ । मेरो मतलब नेपाली माध्यमबाट पढाउदा पनि विद्यार्थी ले सिक्छन भन्ने कुराको महशुस गराउन पहल गर्नुपर्यो । खोइ त मैले नेपाली माध्यमबाट नै पढेर अंग्रेजी भाषा मै विद्यावारिधी गरें त ? सकिने रहेछ त । होइन भने अंग्रेजी माध्यमबाट पढाउन सक्ने  शिक्षकहरु मात्र नियुक्ति गर्नु पर्यो नि होइन र ? अझ शिक्षक सेवा आयोगको परीक्षा पनि अंग्रेजी भाषामा नै लिनु पर्यो नि त । अंग्रेजी विषयकै पनि वहुवैकल्पिक प्रश्न्हरु नेपाली भाषामा सोध्न  नहुने हो नि त ।

खै आधारभुत कुराहरुमा हामीले ध्यान पुर्याएको ? अन्य कुरा भनेका शिक्षकहरुलाई जिम्मेवार बनाउन उसका कार्यहरु के के हुन भनेर तोकिदिनु पर्यो । हामीले काम गरेर देखाउनु पर्यो अनि त अभिभावकको विश्वाश जित्न सकिहालिन्छ नि । खासगरी शहरी क्षेत्रका सामुदायिक विद्यालयहरुमा स्थानीय भन्दा बाहिरका विद्यार्थीहरुको बाहुल्यता रहेको अवस्था छ भने समुदायलाई हामीले राम्रो काम गरी विश्वाश जित्नुपर्ने अपरिहार्यता रहेको छ ।

अहिले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको क्षमतामा बारम्बार प्रश्न उठ्ने गर्छ । सुधारका लागि के गर्नुपर्ला ?
वास्तवमा यसमा पनि म सहमत छैन । यस्ता कुराहरु कपोलकल्पित कुराहरु हुन् । मलाई भन्नु होस अहिलेसम्म सरकारी वा गैर सरकारी संस्था बाट कसले अनुसन्धान गरेको छ सामुदायिक विद्यालयहरुमा अध्यापनरत शिक्षकहरुको क्षमताको सम्बन्धनमा ? मेरो विचारमा सामुदायिक विद्यालयमा अध्यापनरत् शिक्षकहरु वास्तवमा संस्थागत विद्यालयहरुका शिक्षकहरुको तुलनामा धेरै हदसम्म क्षमतावान छन् । शिक्षक सेवा आयोग बाट लिइएको परीक्षा उत्तीर्ण गरेर आएका शिक्षकहरु कसरी असक्षम हुन सक्छन् ? त्यसो भए त शिक्षक सेवा आयोगको औचित्यतामा नै प्रश्न  उठाउनु पर्यो नि होइन र ? कुरो के हो भने नि जुन शिक्षकमा अध्यापन गर्ने क्षमता छैन नि उसलाई जागिरबाट अवकाश दिनु पर्यो नि होइन र ? खोइ त्यस्तो कुनै उदाहरण छ र ? कसले कसरी अनुसन्धान गरेर पत्ता लगायो शिक्षकको क्षमताका बारेमा ? साविक एसएलसी तथा हालको एसइइको परिणाम हेरेर मात्रै भनिएका कुरा हुन यि त ।

एसइइको परीक्षामा ए प्लस ल्याउने हरु पनि कक्षा १२ मा सी ल्याउने वा अनुत्तिर्ण हुने हरु पनि छन् नि  । परीक्षा कसरी भइरहेको छ, ए प्लस कसरी आइरहेको छ भन्ने  कुराको गहन अध्ययन भएको छ ? समग्रमा भन्दा शिक्षकहरुको क्षमता अभिवृद्धि गरिने कार्यहरु पनि भएका छन् तर त्यसको मूल्यांकन गरिएको छैन त्यो हुनुपर्यो अनि पढाउन नसक्ने र नचाहने शिक्षकलाई किन राखिरहनु पर्यो त ? सुध्रन मौका दिनु पर्यो नभए अवकाश दिनु पर्यो नि, होइन र ? म त शिक्षकहरुका बारेमा त्यस्तो समस्या देख्दिन । सामुदायिक विद्यालयका शिक्षकहरु एकदम सक्षम छन् तर हाम्रो हेर्ने दृष्टिु सहि हुनु पर्यो र असक्षम शिक्षक हरुलाइ अवकास दिनुपर्यो ।

शिक्षकहरुको बेलाबेलामा क्षमता परीक्षण हुनुपर्ला कि नपर्ला ?
राम्रो कुरा हो यो ।  समय समयमा शिक्षकहरुको क्षमता परीक्षण हुनुपर्दछ जसले गर्दा शिक्षकहरुले आफुलाई अध्ययनशील राख्दछन् र पेशागत विकासमा ध्यान दिइरहन्छन् । वास्तवमा शिक्षकले शिक्षक सेवा आयोग उत्तीर्ण भएर केहि वर्ष शिक्षण गरे पश्चात जागिरको पनि सुनिश्चिततता भईसकेको हुने हुनाले शिक्षकको पढ्ने बानीमा अलि निष्क्रियता पनि बढेको हुन सक्छ जसले गर्दा शिक्षकहरुलाई अद्यावधिक राख्न पनि शिक्षकहरुको क्षमता परीक्षण हुनुअनिवार्य नै छ । समय अनुसार शिक्षा परिवर्तन हुने भएको ले शिक्षक हरु पनि परिवर्तन हुनु जरुरी छ जसका लागि निश्चित समयमा शिक्षकहरुको सीप तथा दक्षताको परीक्षण हुनु जरुरी छ ।

सरकारले दिने शिक्षक तालीम, पाठ्यक्रम, परीक्षा प्रणाली, मूल्याङ्कनबाट कत्तिको सन्तुपष्ट  हुनुहुन्छ  ?
समयानुकुल सरकारले उपलब्ध गराउदै आएका तालीम, परिवर्तित पाठ्यक्रम, परिवर्तित परीक्षा तथा मूल्याङ्कन प्रणाली सबै सन्तोहषजनक नै छन् । यसमा बिग्रिएको के छ भने विद्यालयहरुले यसलाई कसरी अगाडि बढाइरहेका छन् भन्ने नीतिगत अनुगमन भएकै छैन । जस्तो कि एउटा उदाहरण निरन्तर मुल्याङ्कन प्रणाली लागु गरिएको धेरै वर्ष भइसक्यो तर अहिले पनि धेरै विद्यालयले सो कार्य गरेका छैनन् । खोइ त त्यसको अनुगमन ? त्यसको अनुसन्धान हुनुपर्ने होइन र ? राष्ट्रिय परीक्षा बोर्डले एसइइ परीक्षालाई २०७७ देखिस्तरीकृत गर्ने महाअभियान जारी राखेको छ जसले हाम्रो कक्षाकोठाको शिक्षणलाई नै परिवर्तन गर्नेछ तर यसका लागि स्थानीय निकायलगायत सम्पूर्ण शिक्षा सम्वद्ध सरोकारवालाहरुले उत्तीकै खट्नुपर्ने टड्कारो आवश्यकता रहेको छ ।

एउटा विद्यालय राम्रो बनाउनका लागि एकजना प्रअको कस्तो भूमिका रहन्छ ?
मेरो विचारमा प्रअ एक्लैले केही गर्न सक्दैन । वास्तवमा शिक्षकहरुले चाहेमा विद्यालय भने जस्तो बनाउन सकिन्छ । यसो भनेर म उम्कन खोजेको होइन । प्रअको पनि अझै महत्वपूर्ण भूमिका हुन्छ  । प्रअ भनेको विद्यालयको खम्बा हो जसको विद्यालयलाइ अग्रगतिमा लैजान निकै महत्वपूर्ण भुमिका हुन्छ  । विद्यालयलाई कुन दिशामा लैजाने भन्ने  योजना बनाउने त प्रअ नै हो नि । तर हाम्रो देशको कुरा गर्दा विद्यालयमा प्रअ को दरबन्दी  नै छैन । प्रअ पनि एउटा शिक्षक नै हो । प्रअलाई निश्चित अधिकारहरु दिनु पर्यो जसले विद्यालयलाइ अग्रगतिमा लग्न मद्दत गर्छ । कतिपय कुराहरुमा प्रअ लङ्गडो जस्तो हुन्छ । प्रअले ल्याएका भिजन तथा योजनाहरुलाई शिक्षकहरु ले अक्षरंश पालना गर्नु पर्यो वा रचनात्मक टिप्पणी तथा सहयोग गर्नुपर्यो नि । त्यस्तो नहुने भए उसले कार्बाही गर्ने अधिकार पाउनु पर्यो । प्रअले पनि गल्ति गर्न र अधिकारको दुरुपयोग गर्न सक्छ तर त्यसको पनि अनुगमन गर्नुपर्ने हुन्छ । कतिपय प्रअले चाहेका कुराहरु गर्न नसकिरहेको अवस्था रहेको छ ।

यो विद्यालयमा नै विद्यार्थीहरु किन पढाउने ?
सबै भन्दा  पहिलो कुरा त हाम्रो विद्यालय सामुदायिक विद्यालय हो जहाँ निजी विद्यालयमा जस्तै सुविधाहरु उपलब्ध छन् । अनुभवी एवं लगनशील शिक्षक, दण्ड रहित शिक्षण, बालमैत्री सिकाइ, बाल विकास एवं कक्षा ३ सम्मका बालबालिकाहरुलाई  छुट्टै ब्लक मा विद्यार्थीमैत्री वातावरणमा अध्यापन गरिने, पढाइका अतिरिक्त अन्य सहक्रियाकलाप को व्यवस्था, हरेक हप्ता केहि न केहि अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने, छलफल एवं प्रस्तुतिकरणको अध्यापन विधि, परियोजना कार्य गरिने, अतिरिक्त समयमा पनि विद्यार्थीको आवश्यकता अनुसार अध्यापन गरिने, निःशुल्क कम्प्युटर  तालिम, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, पुस्तकालय, त्रैमासिक भित्ते पत्रिका प्रकाशन, प्रदर्शन पाटीको व्यवस्था, मन्टेमश्वरी शिक्षण आदि । सबै भन्दा महत्वपूर्ण कुरा त हाम्रो विद्यालयमा माध्यमिक शिक्षकहरुले पनि आधारभुत तहका तल्ला कक्षाहरुमा पनि अध्यापन गर्नुहुन्छ  । वास्तवमा यि सबै कुराहरु उपलब्ध गराइएका निजी विद्यालयहरुमा चर्को शुल्क तिरेर मात्र उपलब्ध गराइन्छन् भने हाम्रो विद्यालयमा अलिअलि सहयोगमा वा निःशुल्क रुपमा नै उपलब्ध छन् ।

तपाईं यस विद्यालयमा कहिले प्रअ बन्नुभयो ? तपाई प्रअ बनेपछि के–के सुधार गर्नुभयो ?
म यस विद्यालयमा प्रअ भएको छ वर्ष भयो र यस अवधिमा मैले धेरै नै परिवर्तनहरु ल्याउन सफल भएको छु । भौतिक रुपमा भन्नुपर्दा विद्यालय भवनमा लगभग पूर्णता, कक्षा कोठामा सजावट तथा सम्पुर्णता, सभा हलको व्यवस्थापन, कम्प्युटर प्रयोगशालाको स्थापना, विज्ञान प्रयोगशालाको स्थापना, पुस्तकालयको राम्रो व्यवस्थापन, बैठक कोठाको व्यवस्थापन, ई हाजिरी, विद्यालयमा सानै भए पनि खेल मैदानको व्यवस्था, शिक्षकहरुमा कार्यसम्पादन करारको व्यवस्था, मन्टेश्वरी शिक्षण को व्यवस्था, आफ्नै शिक्षकहरुद्वारा प्रश्न  निर्मित परीक्षा, समय पालना, अनुशासन, शिक्षकहरुलाई समान घण्टीको व्यवस्था, उत्कृष्ट, शिक्षकलाई वार्षिक रुपमा नगद पुरस्कारको व्यव्स्था, विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गर्ने, वार्षिक शैक्षिक कार्य योजनानिर्माण तथा कार्यान्वथयन आदि कार्यहरु गरिएको अवस्था रहेको छ ।

राम्रो प्रअ बन्नका लागि तपाईंका सुझाबहरु के–के छन् ?
एउटा असल प्रअले विद्यालयलाई कसरी अगाडि बढाउने भन्ने बारेमा योजनाबद्ध ढङ्गबाट अगाडि बढ्नुपर्छ । शिक्षकहरुसँग समन्वय गरी आफ्ना कमिकमजोरीहरुको स्वमूल्यांकन गर्नुपर्दछ । त्यस्तै विद्यालयमा आइपरेका हरेक समस्याहरुको हल गर्न प्रत्येक दिन पहल गरिरहनु पर्दछ । शिक्षकहरुलाई समान व्यवहार गर्नुपर्दछ, दण्ड र पुरस्कारको व्यवस्था गर्नु पर्दछ । प्रअ एक्लैले केहि पनि गर्न सक्दैन त्यसैले समूहलाई परिचालन गर्न सक्ने हुनुपर्दछ । शिक्षक तथा विद्यार्थीहरुका हरेक समस्यालाई आफ्नै सम्झेर समाधान गर्न तर्फ अग्रसर हुनुपर्दछ । विद्यालयको समुदायसँग पनि सहकार्य गर्नु पर्दछ । वास्तवमा मेरो आफ्नो कुरा गर्दा त म मेरो व्यक्तिगत स्वार्थमा कहिल्यै पनि अल्झिन्न  सदैव हाम्रो विद्यालयलाई आफ्नै घर जस्तो सम्झेर अहोरात्र काम गर्दछु ।

विद्यालय सुधारका लागि तपाइका योजनाहरु के–के छन् ?
म हरेक वर्ष विद्यालय सुधार योजनालाई अद्यावधिक गर्छु जस्मा हरेक वर्ष विद्यालयमा गरिने कार्यहरुको उल्लेख गरिन्छ् । सो योजनामा उल्लेख गरे बमोजिम नै म अगाडि बढ्छु । धेरै कुराहरु भएका छन् अब त्यस्कै निरन्तरताको खाँचो छ । अरु थप कुराहरुमा भने अबको योजना विद्यालयमा सिसिटिभि को व्यवस्था गर्ने, सैद्धान्तिवक भन्दा  पनि प्रयोगात्मक र व्यवहारिक शिक्षणमा जोड दिने, समुदायमा रहेका युवाहरुलाई विद्यालयमा बोलाएर निशुल्क कम्प्युटर  प्रशिक्षणको व्यवस्था गर्ने, विद्यालयको पुस्तकालयलाई समुदायको पहुँचमा पुर्याउने, बालमैत्री एवं विद्यार्थी मैत्री सिकाइको वातावरण बनाउने आदि । समग्रमा भन्नु  पर्दा हाम्रो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको समग्र विकास गर्ने नै मेरो मुख्य योजना रहेको छ ।

स्थानीय समुदायको सहयोग कत्तिको छ ?
समयानुकुल स्थानीय समुदायको सहयोग पाइ नै रहेका छौं । आशा छ यसलाई अझ मजबुत बनाउदै लगिनेछ । अझ महत्वपूर्ण कुरा त हाम्रो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्दु तिमल्सिना लगायत सम्पूर्ण पदाधिकारीहरु तथा वडा अध्यक्ष बिदुर सापकोटा एवं अभिभावक शिक्षक संघका पदाधिकारीहरु सबैले कसरी विद्यालयको गुणस्तर बढाउने र समुदायको मुटुमा विद्यालयलाई कसरी राख्नु सकिन्छ भनेर  अहोरात्र खटिरहनु भएको छ । आशा छ आगामी शैक्षिक सत्रमा स्थानीय विद्यार्थीहरुको संख्यामा उल्लेख्य वृद्धि हुनेछ ।

शिक्षक र विद्यार्थीको अवस्था के छ ?
हाम्रो विद्यालयमा अध्यापनरत सबै शिक्षक साथीहरु अनुभवी एवं योग्य हुनुहुन्छ । छब्बिस जना शिक्षकहरु मध्ये २१ जना स्नायतकोत्तर हुनुहुन्छ जो साना कक्षाहरुमा पनि अध्यापन गर्नुहुन्छ । शिक्षकहरुको सहयोग बिना त म केहि पनि गर्न सक्दिन त्यसकारण विद्यालयमा जे जति गतिविधिहरु भएका छन् त्यसको श्रेय हाम्रा शिक्षक साथीहरुलाई नै जान्छ । विद्यार्थीहरुका समस्याहरु पहिचान गरि व्यक्तिगत विभिन्नोताको आधारमा शिक्षण गर्नुहुन्छ । विद्यार्थीहरु पनि मेहनती एवं अनुशासित छन् । शिक्षक तथा प्रधानाध्यापक संग खुलेर कुरा गर्न सक्छन् । विद्यार्थीहरु बाल क्लब, सफा क्लब, जुनियर रेडक्रस, नेपाल स्काउट जस्ता विभिन्नह विधागत समूहहरुमा आवद्ध छन् । विभिन्नु सामाजिक क्रियाकलापहरुमा उनीहरुको उल्लेख्य सहभागिता रहने गरेको छ ।

प्रस्तुतिः सूर्यकुमारी सुवेदी

Comments: