२०७६ चैत्र २५ गते

सिलौटा खोप्दै पाइएन पढ्न

अन्तैबाट

महोत्तरी  । महोत्तरीको बर्दिबास चोकमा बस्ने शिव थेवे १६ वर्षका भए । यो उमेरसम्म उनले विद्यालय टेकेका छैनन् । अरु बालबालिका किताब–कापी बोकेर स्कुल जान थाल्दा उनी भने घोडामा सिलौटा बोकाएर व्यापार गर्न हिँड्छन् । ‘स्कुल जान रहर त लाग्छ,’ उनले भने, ‘तर परिवार पाल्ने जिम्मेवारी भएकाले सिलौटाको व्यापार गर्नु बाध्यता छ ।’

वर्षौंदेखि बर्दिवास चोकमा बस्दै आएका उनका बुबा छैनन् । आमालाई सघाउन सानैदेखि सिलौटा कुद्ने र बिक्री गर्ने काम गर्दै आएका छन् । त्यसबाट आएको पैसाले खान मात्रै पुग्छ । त्यसैले आफ्ना तीन भाइबहिनीलाई पढाउन नसकेकोमा उनलाई सधैं चिन्ता लाग्छ । आमा राधालाई पनि छोराछोरी पढाउन मन नलागेको कहाँ हो र । भन्छिन्, ‘सम्पत्ति नभएकाले सिलौटा बेचेरै पेट पाल्दै आएका छौं ।’ १५ वर्षीय छोरा सुरज र छोरी ११ वर्षकी सानु कुमारी दिनभर आमाको सहयोगीको रूपमा सिलौटो, लोहोरो कुद्ने र बिक्री गर्ने काममा खटिन्छन् । राधासँगै दिदीको छोरा अर्जुन थेवे र उनको परिवार पनि सिलौटा कुद्ने पेसाबाटै जीवन चलाइरहेका छन् । संयुक्त रुपमा एकै ठाउँमा दुईवटा परिवारले सिलौटा बनाउँदै आएका छन् ।

दुई परिवारका १० जनाले दैनिक १५ वटासम्म सिलौटा तयार पार्ने गरेको अर्जुनले बताए । एक व्यक्तिले दिनमा ४ वटासम्म सिलौटा बनाउन सक्छन् ।

दुई परिवारले सिलौटा गाउँ–गाउँमा पुर्‍याउन ८ वटा घोडा पालेका छन् । एउटा सिलौटा ४–५ सय रुपैयाँमा बिक्री हुने गरेको शिवले बताए । उनका अनुसार दिनमा ४/५ वटासम्म सिलौटा बिक्री हुन्छ । अर्जुनकी बहिनी १६ वर्षकी मुस्कान र ५ वर्षको छोरा सजल पनि विद्यालय जाँदैनन् । श्रीमती गुडिया, बैनी मुस्कान, छोरा र आफूले काम गर्दा पनि खान समेत धौधौ हुने गरेको अर्जुनले बताए । अचेल सिलौटाको व्यापार पनि कम हुँदै गएको उनले सुनाए ।

सुनिता बरालले कान्तिपुरमा खबर लेखेकी छन् ।

Comments: