२०७६ भदौ २ गते

नेपालमा शिक्षाले निम्त्याएको गरिबी

सतीदेवी थापा, बुडब्रिज, भर्जिनिया (अमेरिका)



अमेरिकी राष्ट्रपतिको उम्मेदवारीका निम्ति रिपब्लिकन पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रेका फ्लोरिडा राज्यका सिनेटर मार्को रुबियोले एक वादविवादका दौरान भने, ‘मैले जीवनभर नबुझेको कुरा के हो भने किन हामीले व्यावसायिक शिक्षालाई कलंकित गरेका छौँ । वेल्डिङको काम गर्ने व्यक्तिले दार्शनिकहरूभन्दा बढी पैसा कमाउँछन् । हामीलाई बढी ‘वेल्डर’हरू चाहिएको छ र कमै दार्शनिकहरू ।’

रुबियोको उक्त कथनलाई कसैले समर्थन गरे भने कैयौँ दर्शनशास्त्र पढ्ने विद्यार्थी आक्रोशित बने । उक्त कथनको महत्ता अमेरिकी समाजमा के कसो छ, त्यो बहसको विषय छ, तर उक्त कथनलाई नेपाली समाजको वर्तमान गरिबी अवस्थालाई दाँजेर हेर्दा अत्यन्तै सान्दर्भिक हुन आउँछ ।

शिक्षाको महत्त्व सर्वोपरी छ, त्यसमा दुईमत हुनै सक्दैन । यद्यपि हाम्रो समाजको दोहोरो चरित्रका कारण वा भनौँ हाम्रो अल्पज्ञानका कारण हाम्रो समाज दिन प्रतिदिन गरिबीको दलदलमा भासिँदै गइरहेको छ ।

दोहोरो चरित्रको कुरा गर्दा हामीले शिक्षालाई जीवनको अत्यावश्यक पक्ष मानेका छौँ । आफ्ना सन्ततिलाई ‘बोर्डिङ स्कुल’मा पढाउने सपना हरेक झुपडीमा देखिन्छ । कसैले ऋण काढेर त कसैले गरगहना बेचेर, कसैले घरखेत बेचेर वा बन्धकी राखेर वा वैदेशिक रोजगारीमार्फत हाडछाला घोटेर कमाएको पैसा छोराछोरीको पढाइमा खर्च गरेका हुन्छन् । यस्तो प्रचलन विदेश आएका नेपालीमा पनि छ( आफूले दोहोरो सिफ्ट काम गरेर होस् या नेपालमा भएको घर(जग्गा बेचबिखन गरेर भए पनि छोराछोरीलाई पढाएको धेरै दृष्टान्त छन् ।

यसरी एकातिर शिक्षाका लागि बाबुआमा वा परिवारले शिक्षाका लागि ठूलो त्याग तथा बलिदान गरेको देखिन्छ भने अर्कोतर्फ भविष्यमा छोराछोरीले कमाएर सम्पूर्ण परिवारको जोहो गर्नेछन् वा भनौँ भने परिवारको आर्थिक अवस्थामा ठूलो परिवर्तन ल्याउने संवाहक बन्ने छन् भन्ने कामना पनि रहन्छ । झट्ट हेर्दा पारिवारिक बलिदान प्रशंसनीय देखिए पनि मनोवैज्ञानिक तहमा यो एउटा ससर्त गरिएको करार प्रतीत हुन्छ, ‘अहिले हामी हाडछाला घोटेर पढाउँछौँ तिमीहरूले भविष्यमा हाडछाला घोटेर हाम्रो वा परिवारको हेरचाह गर्नु ।’ थोरै शब्दमा भन्दा, हामी एक अर्काप्रति परनिर्भर बन्ने तयारी गर्दछौँ ।

यस्तो मनस्थितिले हामी शिक्षालाई धन कमाउने साधनको रूपमा मात्र हेर्ने गर्दछौँ । यसको अलावा नेपाली शिक्षा प्रणालीको अवैज्ञानिक पद्धतिले समस्यालाई थप विकराल बनाउँदै छ । हाम्रो शिक्षा व्यावहारिक र व्यावसायिक छैन, बरु सैद्धान्तिक छ । हामी कुनै विषयमा व्यावहारिक दक्षता हासिल नगरी नै स्नातक र स्नाकोत्तर बन्दछौँ र रोजगार बजारमा अयोग्य नै साबित बन्दछाँै । त्यसकारण नेपालमा पढाइ एक औपचारिकामा मात्र सीमित बन्न पुगेको छ भन्दा अत्युक्ति नहोला ।

त्यत्रो पढेर पनि केही गर्न सकेन (पैसा कमाउन सकेन) भन्ने मानसिकताले युवा वर्गमा शिक्षालाई केवल पैसा कमाउने माध्यमका रुपमा हेर्न सिकाएको छ, जसका कारण प्लस टु पास गर्नेबित्तिकै विदेश जाने मनस्थितिलाई बढावा दिएको छ र परनिर्भरतालाई अझै गहन बनाएको छ । ।

यदि समाजलाई धनी बनाउनु छ भने धनी बनाउने बाटोमा लाग्नुपर्दछ । शिक्षा सँगसँगै व्यावसायिक सीपको विकास आवश्यक छ । विदेशमा जस्तै सरकारले शिक्षा लोन दिनुपर्दछ र स-साना कामहरू गरेर कोही ठूलो सानो हुँदैन भन्ने कुरामा चेतना अभिवृद्धि गर्दै एसएलसी पास गर्नेबित्तिकै आत्मनिर्भर बन्न प्रोत्साहन गर्नुपर्दछ । आत्मनिर्भरताले नै अनुशासन र समानता सिकाउँछ ।अनलाइन खवर डटकम बाट ।

Comments: