२०७६ असोज २९ गते

शिक्षा नियमावलीले बढायो शिक्षामन्त्री र मुख्य सचिवबीचको तिक्तता

काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेल र मुख्य सचिव सोमलाल सुवेदीबीच नयाँ शिक्षा नियमावलीका विषयमा तिक्तता बढेको छ। शिक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको शिक्षा नियमावलीलाई मुख्य सचिव सुवेदीले फिर्ता पठाइदिएपछि मन्त्री पौडेलसँग तिक्तता बढेको हो ।


‘प्रधानमन्त्रीसँग सल्लाह गरेर नै हामीले नियमावली मन्त्रिपरिषदमा पठाएका हौं,’ शिक्षा पत्रकार सञ्जालद्वारा आइतवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले भने, ‘तर मुख्य सचिवले नियमावली मन्त्रिपरिषदमा दर्ता नै नगरी फिर्ता गरेको सुनेको छु। उहाँलाई नियमावली फिर्ता गर्ने अधिकार नै छैन।’


अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेपछि मन्त्रालयले चैत ७ गते नियमावली मन्त्रिपरिषदमा पठाएको थियो। तर, मुख्य सचिव सुवेदीले पहिले बनेको नियमावलीले स्थानीय तहलाई नसमेटेको भन्दै फिर्ता पठाएका थिए। संघीय संरचना अनुसार नियमावलीलाई संशोधन गर्ने गरी अहिले मन्त्रिपरिषदमा स्वीकृतिका लागि पहल गरिने मन्त्री पौडेलले बताए।


‘शिक्षा ऐन आठौं संशोधन पनि संविधान जारी गरेपछि संक्रमणकालका रुपमा ल्याएका थियौं। नियमावली नहुँदा शिक्षामा धेरै नै काम अड्किएका छन्। त्यही भएर संक्रमणकालका लागि मात्र नियमावली ल्याउन लागेका हौं,’उनले भने। मन्त्रालयका प्रवक्ता हरि लम्सालका अनुसार पुरानो नियमावली नभएको अवस्थामा नयाँ नियमावली आवश्यक छ।


‘नियमावली नहुँदा ऐनमा भएका कुरा लागू गर्न सकेका छैनौं,’लम्सालले भने,‘नियमावलीको अभावमा मन्त्रालयका काममा समस्या आएको छ।’ अन्नपुर्णपोष्टमा खबर छ ।

Comments: