‘परीक्षा स्थगित गर्न तयारी भयो भन्दै आएका कुरा हल्ला मात्र हो । आकाश खसे पनि धर्ती भासिए पनि परीक्षा तोकिएको मिति मै हुन्छ ।’ यो कथन शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमको भनेर यो हप्ताको सामाजिक सञ्जाल खबरमा भाइरल नै भएको थियो । तर यो भनाईमा लाइक र कमेन्ट नसकिँदै शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुलाई स्थायी गर्न खोलेको विज्ञापनको परीक्षा मिति पुनः सारिएको छ । २०७३ साल चैत्र १९ गते खोलिएको विज्ञापनले २०७४ साल असार २४ गते परीक्षा हुने मिति तय गरेकोमा आयोगको तयारी नपुगेको भन्दै यहि असार ५ गते उक्त परीक्षा मिति भाद्र ३ गतेका लागि सारिएको थियो ।

आज मिति २०७४ साल साउन ३१ गते परीक्षा हुने मिति ५ दिन अगाडि फेरी प्राकृतिक प्रकोपका कारण परीक्षा एक हप्ता पछाडि भाद्र १० गते हुने सुचना सार्वजनिक गरेको छ । यो परीक्षा सर्नु र सार्नुका कारणहरुका बारेमा फरक तरिकाका दाबीहरु देखिएका थिए । पहिलो पटकको परीक्षाको मिति नजिकिदै गर्दा केहि अस्थायी शिक्षकहरुले यो खोलिएको आयोगले सबै अस्थायी शिक्षकलाई समान न्याय गर्न सकेन भने आमरण अनसन शुरु गरेका थिए ।

७ दिनसम्म चलेको उक्त आमरण अनसन नेपाल शिक्षक महासंघको रोहवरमा शिक्षा मन्त्रालयका कर्मचारी र आन्दोलनरत शिक्षकहरुका प्रतिनिधिहरु बीच ४ बुंदे सहमति भएर टुङ्गियो । मूलभूत रुपमा शिक्षा ऐनको नवांै संशोधन मार्फत परीक्षामा अनुत्तीर्ण भएकालाई औषधि उपचार सहितको आर्थिक सहुलियत र आन्तरीक प्रतिस्प्रर्धामा कार्यरत शिक्षकहरुको पदसंख्या वृद्धि गरिने भन्ने सहमतिलाई चाँडै क्याविनेट मार्फत सदनमा लिई पारित गराउने मौखिक प्रतिवध्दता शिक्षा मन्त्रीले दिए पछि पहिलो चरणको आमरण अनसन तोडिएको थियो ।

शिक्षा मन्त्री र मन्त्रालयले सहमति अनुसार कार्य नगरेको भन्दै यहि साउन १८ गतेबाट अस्थायी शिक्षकहरुले पुनः ४ बुंदे सहमति कार्यान्वयन र भाद्र ३ गतेको परीक्षा स्थगनको माग राखेर आमरण अनसन शुरु गरे । आमरण अनसनको आज १४ दिनमा परीक्षाको मिति सरेको छ । यो बीचमा केहि अस्थायी शिक्षकहरुले अदालतमा भाद्र ३ गतेको परीक्षा स्थगनको लागि रिट निवेदन समेत गराएका छन ।

नेपाल शिक्षक महासंघद्वारा आठौ शिक्षा ऐन संशोधनबाट प्राप्त उपलब्धीको सुनीश्चितता ऐन कानूनले नगरेसम्म भाद्र ३ गतेको परीक्षा नसार्न शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । यसै हप्ता आएको भिषण वर्षाका कारण देश बाढीपैरोको चपेटामा परी १०० जना भन्दा बढी नेपालीको ज्यान गएको तथा वेपत्ता भएका छन् । प्राकृतिक प्रकोप र अस्थायी शिक्षक संघर्ष समितिको परीक्षा मिति सार्ने माग सहितको आमरण अनसनका वावजुत पनि हजारौ शिक्षक परीक्षा दिन परीक्षा केन्द्रमा पुगिरहेका छन । यस्तो विषम परीस्थितिमा शिक्षक सेवा आयोगले परीक्षाको मिति सारेको छ ।

यो मिति सराईले हरेकको मनमा प्रश्न उब्जिएको छ कि, के परीक्षाको मिति सार्दा आन्दोलनरत अस्थायी शिक्षकको माग पुरा भएको हो ? के शिक्षा मन्त्रीले शिक्षा ऐन संशोधनको लागि आयोगलाई परीक्षा सार्न लगाएका हुन् ? के शिक्षक महासंघको माग बमोजिम शिक्षा ऐन आठौ संशोधन प्रदत्त उपलब्धिहरुको सुनीश्चित्ता भैसकेको हो ? वा के साँच्चै प्राकृतिक प्रकोपका कारण शिक्षक सेवा आयोग अप्ठ्यारोमा परेकै हो त ?

यी माथि उठाइएका जिज्ञासाहरुको यो मिति सराईले गोलमोटल जवाफ दिन खोजेको पाईन्छ । अर्थात् आयोगले जे–जस्तो कारण उल्लेख गरेता पनि भाद्र ३ को परीक्षा मिति सराईबाट केहिको मान राख्न र केहीको नाक जोगाउन खोजेको जस्तो देखिन्छ ।

माननीय गोपालमान श्रेष्ठले शिक्षा मन्त्रीको सपथ ग्रहण गरेको आज ६९ दिन पुगेको छ । शिक्षा मन्त्रालयले उप–प्रधान मन्त्री सहितको सिनियर मन्त्री पाएको सम्भवत् प्रजातन्त्र स्थापना पछिको यो पहिलो पटक हो । त्यसैले वर्तमान शिक्षा मन्त्रीबाट सबैले धेरै कुराको अपेक्षा गरे ।

सोहि मुताविक मागहरु राख्दै गए । शिक्षा मन्त्रालय भित्रको गोलचक्र बुझिनभएका शिक्षा मन्त्रीले पनि जस्ले जे–जे माग राखे पुरा हुने ठानेर आश्वासन बाड्न शुरु गरे । अस्थायी शिक्षक समस्या २०३६ साल देखिको शिक्षा क्षेत्रको पेचिलो मुद्दा हो भन्ने हेक्का नराख्दै यस विषयमा आएका माग पुरा गर्ने आश्वासन दिन थाले ।

आठौ शिक्षा ऐन संशोधन ताका ३२ जना माननीय सांसदहरुले संशोधन प्रस्ताव गर्दा पनि पारित हुन नसकेको परीक्षामा अनुतिर्णलाई औषधी उपचार सहितको उपदान दिने विषय माननीय मन्त्री गोपालमान श्रेष्ठले पुरा गरिदिने आश्वासन दिए पछि स्वभावैले अस्थायी शिक्षकहरु हौसिन पुगे र माग पुरा गराउन दवाव स्वरुप आन्दोलनको घोषणा गर्न पुगे ।

जब आफुले दिएको वचन पूरा नहुने कुरा थाहा पाए पछि शिक्षा मन्त्री छलछाम गर्न थाले । अस्थायीले राखेको परीक्षा सार्नु पर्ने मागलाई नेपाल शिक्षक महासंघले सार्न पाइदैन भनेर लेखिपठायो भन्दै उम्कने प्रयास गर्न थाले । यसले गर्दा आन्दोलनरत आस्थायी शिक्षक, नेपाल शिक्षक महासंघ र मन्त्रालय बीच त्रिपक्षिय द्वन्द र मनमुटावको स्थिति सृजना हुन थाल्यो । यो अवस्थाबाट पार हुन अस्थायीको आमरण अनसन तोड्नु शिक्षा मन्त्रीको लागि पहिलो उपाय भएको हँुदा आयोगको यस पटकको परीक्षा मिति सार्ने कामले मन्त्रीलाई केहि राहत महसुस भएको हुनु पर्छ तर अस्थायीलाई विश्वस्त नपारे सम्म यो नाक जोगाइले पारलाग्ने भने देखिदैन ।

नेपाल शिक्षक महासंघको छैठौपूर्ण बैठकले नवौ शिक्षा ऐनबाट अस्थायी शिक्षहरुले अहिले प्राप्त गरेका उपलब्धिहरुको सुनिश्चितता नगरेसम्म परीक्षाको मिति सारिनु हुदैन भन्ने निर्णय गरेको छ ।

सो निर्णय कार्यान्वयनका लागि शिक्षक महासंघ लागि परेको अवस्थामा महासंघका नेताहरुलाई अस्थायी शिक्षक संघर्ष समिति र मन्त्रालयसित आफुखुशी निर्णय गर्ने छुट छैन । कतिपयलाई भाद्र ३ गतेको परीक्षा मिति सारेमा समस्याको निकास हुन्थ्यो कि भन्ने पनि लागेको हुन सक्दछ र केहि नेताहरुले सबैलाई मिलाएर लैजाने नीति बोक्दा महासंघको परीक्षा सार्नु पर्दाको सर्तले अप्ठ्यारो पनि पारेको भए त्यस्तोमा पनि आयोगको परीक्षा मिति सार्ने निर्णयले सजिलो पार्न सक्दछ ।

यो परीक्षाको मिति सार्ने माग आमरण अनसनमा बसेका आन्दोलनरत अस्थायी शिक्षकको हो । धेरै पक्षसितको हारगुहार गर्दा पनि आन्दोलनको सुनुवाई नभइको परीप्रेक्षमा अनसन कार्य जटिल मोडमा पुगेको थियो । देशभरबाट आन्दोलनमा सहभागी हुन आएका शिक्षकहरु परीक्षाको मिति नजिकिदै जाँदा आ–आफ्नो परीक्षा केन्द्रमा जानेक्रम शुरु भैसकेको थियो र आन्दोलन पातलिदै अनसनकारीलाई कुरुवा को बस्ने अवस्थामा पुग्ने खतरा मौलाउदै थियो । भाद्र ३ गते परीक्षा सम्पन्न भैसके पछि आन्दोलनको अवस्था के हुने ? जवाफ सजिलो थिएन । तसर्थ यो परीक्षाको मिति जे जस्तो कारण देखाएर सारे पनि थप छलफल गरी सहमति र सम्झौता गर्ने अवसर प्राप्त भएको छ । आन्दोलनकारीले मागे अनुसार सबै पुरा नहुन सक्छन तर केही उपलब्धी हासिल गर्ने अवसर हो भनेर बुझ्न र सोही अनुसारको वार्ता अगाडि बढाउन सकिने भएको छ । यो अवसरले अहिलेको आन्दोलनलाई केहि समय स्थगन गरेर पुनः थप शक्तिका साथ निर्णायक आन्दोलन गर्ने सुविधा पनि प्रदान गरेको छ । आमरण अनसनको व्यानेरमा उल्लेखित माग सम्बोधन भएकोले आयोगले आन्दोलनको सम्मान गरेको अर्थमा पनि बुझ्न सकिन्छ ।

भाद्र ३ गतेको परीक्षा स्थगनको लागि अदालतमा रिट निवेदन परेको सो रिट निवेदनद्वारा परिक्षा स्थगित गर्नु पर्ने परिस्थितिमा पनि अहिलेको परीक्षा मिति सराईले सजिलो नै पर्ने र अदालतले आदेश गर्दा समेत पालन हुन गई अदालतको मानसम्मान भएको ठहर्ने देखिन्छ ।

अहिले बाढीपहिरोमा परी देश तहसनहस भइरहेको समयमा परीक्षा सञ्चलन गर्नु त्यति व्यवहारिक सजिलो थिएन । सरकारले आफ्ना सबै निकायहरु प्राकृतिक प्रकोपमा परेका जनताको उद्वारमा लगाउनु परिरहेको समयमा शिक्षक सेवा आयोगले परीक्षा लिई रहदा धेरै आप्ठ्यारा झन्झट व्यहोर्नु पर्ने बाध्यताबाट पनि आयोग केहि हद मुक्त हुने देखिन्छ ।

शिक्षा आयोगको परीक्षामा उत्तीर्ण भई स्थायी हुने अभिलाषा बोकेर १५ हजार भन्दा बढी शिक्षकहरु दिनरात मेहनतका साथ अध्ययन गरिरहेका छन् । हजारौं शिक्षकहरुले परीक्षाको कोचिङ कक्षामा महंगो शुल्क बुझाएर पढेका छन । घरपायक परीक्षा केन्द्र भएका केहि सय परीक्षार्थी शिक्षक बाहेक हजारौं अस्थायी शिक्षकहरु भाद्र ३ गतेको परीक्षा दिन भनेर केन्द्रमा पुगीसकेको अवस्था हो । यी सबै शिक्षकको अहिलेसम्म भएको परीक्षाको लगानीलाई आँकलन गर्ने हो भने करोडौंको खर्च भैसकेको छ भने अझ एकहप्ता पर परीक्षा सार्दा करोडौंको खर्च थपेको छ । अस्थायी शिक्षकहरु विद्यालयमा बिदा लिनु पर्दा विद्यार्थीको पढाईमा समेत असर पुगिरहेको छ । यो अस्थायी शिक्षकको स्थायी हुने परीक्षा सबैका लागि अति महंगो सावित हुदै गएको छ ।

अतः यस पटकको शिक्षक सेवा आयोगको परीक्षा सार्ने निर्णयले कतिपयका निर्णयलाई सम्मान गरेको छ भने कतिपयलाई सहज बाटोतिर बढ्ने अवसर जुटाएको छ । आयोगको यो निर्णय कसैलाई सजिलो र कसैलाई अप्ठ्यारो पार्ने गरी नभई समस्याको समाधानका लागि अवसरको रुपमा ग्रहण गर्दै सम्बन्धित सरोकारवाला सबैले सदुपयोग गरौ । अरुतिर औला देखाएर आफू चोखो बन्ने र मेरा कुरा मात्र सही भन्ने जिद्दी कसैले नराखौ । सबै मिली तोकिएको मितिमा छलफल, वार्ता र सहमति गरी समयमा नै परीक्षा सम्पन गर्न सहयोग पुर्याऔं । यहि कामना छ ।

प्रतिकृया दिनुहोस्