२०७६ भदौ ३१ गते

सामुदायिक विद्यालयले निजीसँग सजिलै प्रतिस्पर्धा गर्न सक्छन्

यामलाल घिमिरे

प्रधानाध्यापक, श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राम, सुर्खेत


अन्य सामुदायिक विद्यालयको भिडमा श्रीकृष्ण संस्कृत तथा साधारण माविलाई कसरी चिनाउनुहुन्छ ?

यो विद्यालयले आफ्नोे मिहिनेत, फरक अभ्यास, निरन्तरको उत्कृष्ट नतिजा, जनचाहनाबमोजिम प्राविधिक शिक्षा, संस्कृत, नेपाली र अंग्रेजी माध्यममा शिक्षण सिकाइ, उत्कृष्ट भौतिक पूर्वाधारलगायतले मध्यपश्चिममा नै फरक पहिचान बनाउन सफल रहेको छ । यो विद्यालय खुल्ने, पढाइ हुने र बन्द हुने, समय तालिका अनुसार हुने गर्छ । पठनपाठनमा कुनै घण्टि खाली हुँदैन, यदि खाली भयो भने कक्षा मनिटरले शैक्षिक प्रशासनमा जानकारी पठाउँछ, विद्यालयमा जुन शिक्षक उपलब्ध हुनुुहुन्छ खाली कक्षामा जानुहुन्छ । यदि शिक्षक उपलब्ध नभएमा विषयगत तयारी अवस्थामा बसेका जान्ने समूहका विद्यार्थीबाटै सहजीकरणको व्यवस्था मिलाइन्छ । उनीहरुको समय खेर जाँदैन । साथै, हाम्रो विद्यालयमा कक्षा ६ देखि १२ सम्म प्रत्येक कक्षाका एक–एक सेक्सन अङ्ग्रेजी माध्यमबाट समेत पठनपाठन हुन्छ । यस आधारमा यो अरुमा सामुदायिक विद्यालयभन्दा फरक छ । समग्र विद्यालयको सिकाइ उपलब्धि ५७ प्रतिशत रहेको छ । १ देखि १२ कक्षासम्म १७७८ विद्यार्थी र उनीहरुका लागि ३४ जनाको शिक्षक समूह कार्यरत छ । विज्ञान विषयका हरेक संकायका छुट्टा–छुट्टै प्रयोगशाला, आधुनिक पुस्तकालय अन्यमा भन्दा उत्कृष्ट छ ।

विद्यालयका राम्रा अभ्यासहरु के–के छन् ?

मैले अघि नै भनिसके नि, विद्यार्थीले कक्षा खाली हुन दिँदैनन् । उनीहरुले प्रत्येक कक्षामा विषयगत मनिटर बनाएका हुन्छन् । जुन विषयको शिक्षक अनुपस्थित हुन्छन् त्यो घण्टी विषयगत मनिटर आफैंले सहजीकरण गर्छन् । प्रार्थना समयमा विद्यार्थीले प्रतिभा प्रस्तुत गर्ने अवसर पाउँछन् । कुनै दिन जुन विद्यार्थी कक्षामा उपस्थित हुँदैन, उसबाट मनिटरले हर्जाना उठाउँछन् र कक्षाको कोषमा राख्छन् । यो सञ्चित कोषले शुक्रबारीय वा अन्य कार्यक्रम आयोजना गरी पुरस्कार व्यवस्था मिलाउँछन् । विभिन्न हाउस अनुसार वातावरण सरसफाइ कार्यक्रम सञ्चालन गर्ने गर्छन् । कक्षा ६ देखि १२ सम्म अङ्ग्रेजी र नेपाली दुबै माध्यममा पढाइ गर्ने गरिएको छ भने संस्कृत माध्यमबाट समेत अध्यापन गर्ने अवसर छ । कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन, विभिन्न सुधारात्मक परीक्षा प्रत्येक शिक्षक अनिवार्य पाठयोजनासहित कक्षामा जाने र विशेषगरी कक्षा १० को एसइइ परीक्षाको तयारीका लागि अभिभावक र विव्यसको समन्वयमा बिहान–बेलुका अतिरिक्त तयारी कक्षा सञ्चालन गरिँदै आइएको छ । प्रशासनिक सहजताका लागि हरेक कक्षा सिसिटिभिबाट निगरानी गर्ने, विद्यार्थी भागेमा वा अनुपस्थित रहेमा अभिभावकलाई सूचना गरी जानकारी लिने र नियमित बनाउने प्रयत्न गरिने, कक्षा ६ देखि माथिका विद्यार्थीलाई अभिभावक र जिल्ला शिक्षा कार्यालयको अनुमतिमा वर्षमा एक पटक विभिन्न क्षेत्रको शैक्षिक अवलोकन भ्रमणमा लगिँदै आएको छ । हामी पाठ्यपुस्तक केन्द्रित सिकाइभन्दा माथि उठेर पुस्तकालय, खुला वातावरण, इन्टरनेट आदिलाई सिकाइको माध्यम बनाउने गरेका छौं ।

विद्यालय राम्रो बनाउन कस्ता प्रयास भएका छन् ?

हामी सामूहिक कार्यमा विश्वास गर्छौं । सामूहिक योजना निर्माण, कार्य–विभाजन, कार्यान्वयनमा सामूहिक प्रयास गर्ने गर्दछौं । हरेक काम सामूहिक निर्णयको आधारमा गर्ने गर्छौं । हामी पठनपाठन सुधारलाई नै मुख्य जोड दिँदै आएका छौं । विद्यार्थीको अनुशासनमा सुधार ल्याउन सिसिटिभि जडान गरिएको छ । सिकाइ अभिवृद्धि गर्न पाठगत, साप्ताहिक, मासिक परीक्षा लिने गरेका छौं । अभिभावकलाई महिनामा एकपटक विद्यालयमा भिजिट गर्न अनुरोध गरिने गरिएको छ । साथै, बालबालिकाका बारेमा भएको प्रगति वा केही टिप्पणी भएमा परामर्श पुस्तिकामा उल्लेख गर्न लगाउने गरिएको छ । विद्यालयले सुधार गर्नुपर्ने पक्ष देखिएमा तत्काल कार्यान्वयन गर्नेतर्फ जोड दिइँदै आइएको छ । हामी अभिभावकको चाहना अनुसारको समयसापेक्ष शिक्षा प्रदान गर्न प्रतिबद्ध भएर लागिरहेको अवस्था छ ।


तपाईँको विचारमा सामुदायिक विद्यालयका खास समस्याहरु के–के हुन् ?

समस्या धेरै छन् । समस्या मात्रै हेर्दा समस्या नै देखिन्छ । त्यसलाई अवसरको रुपमा हे¥यौं भने अवसर नै अवसर देखिन्छ । मुख्यतः सामुदायिक विद्यालयमा राम्रो गर्ने, सुधार गर्ने इच्छा शक्तिको कमी भएको जस्तो लाग्छ । समस्या नभएको भने होइन । शिक्षक विद्यार्थी अनुपात नमिलेको देखिन्छ । कुनै ठाउँमा शिक्षक बढी विद्यार्थी कम देखिन्छ भने हाम्रा जस्ता शहरी क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक आधा मात्र उपलब्ध छन् । अर्को कुरा आर्थिक अभावमा गुज्रिएका सामुदायिक विद्यालयमा भवन, कक्षाकोठा, कम्प्यूटर, ल्यापटप, प्रोजेक्टर आदि जस्ता भौतिक पक्षको अभाव देखिन्छ । तर, समस्या देखेर डराउनु भएन । समस्यालाई अवसरको रुपमा लिँदै सुधारको बाटोमा अघि बढ्न जरुरी छ ।

सरकारको ठूलो लगानीका बाबजुद सामुदायिक विद्यालयको गुणस्तर कम देखिन्छ । यसको कारण केलाई मान्नुहुन्छ ?

लगानी मात्रै भयो अनुगमन र सुपरीवेक्षण भएन । दण्ड र सजायको व्यवस्था नहुँदा छाडातन्त्र भयो । राम्रो गर्नेलाई हौसला र नगर्नेलाई दण्ड प्रेरणा दिने काम भएन । शिक्षकहरु बढी राजनीतिसँग गाँसिए । उनीहरुलाई आवश्यकताअनुसार पार्टीले प्रयोग गर्ने र संरक्षण दिने काम गरे । हो, त्यस्तै विद्यालयको नतिजा पनि खस्किएको देखिन्छ । सचेत मानिसले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्छ भन्ने सोंच बनाएको देखिँदैन । समुदायले चासो नदिएपछि गुणस्तर खस्कनु स्वाभाविक नै हुनजान्छ । शिक्षण पेशालाई जागिरको रुपमा मात्रै लिने प्रवृत्ति, दलीय हस्तक्षेप, समुदायको वेवास्ता, सरकारी अनुगमनको कमीलगायतका कारण केही सामुदायिक विद्यालयहरु धराशायी बन्दै गइरहेका छन् ।


सामुदायिक विद्यालयले समुदायको विश्वास आर्जन गर्न किन नसकेका होलान् ?

समुदायको चाहना र शिक्षाप्रतिको बुझाइ फराकिलो बन्दै गइरहेको छ । हाम्रा विद्यालयहरु भने पुरानै ढर्रामा सञ्चालन हुँदै आइरहेका छन् । पहिले पो विकल्प थिएन जे गरेपनि हुन्थ्यो अहिले निजी विद्यालयहरु विकल्पको रुपमा आइसक्दा पनि विद्यालयहरुले आफुलाई रुपान्तरण गर्न सकेनन् । सरकारले पनि सोही अनुसारको नीति ल्याउन सकेन । हाम्रा विद्यालयहरु उही पुरानै ढर्राका भए तर समुदायको आवश्यकता र चाहना नयाँ भइदिए । त्यसैले उनीहरु निजी विद्यालयतर्फ आकर्षित हुन थाले । अंग्रेजी माध्यम निर्विकल्प भइसक्यो । अझै विद्यालयहरुमा विद्यार्थी अनुपातमा शिक्षक पु¥याउन सकिएको छैन । शिक्षकहरु पढाउन, परिस्कृत हुन चुके, सरकारीे भूमिका फितलो भयो, सम्पन्न र सचेत अभिभावकले छोरा छोरी बोर्डिङहरुमा पठाए । कम आर्थिक अवस्थामा रहेका सामान्य परिवारका बालबालिका मात्र सरकारी विद्यालयमा आए । उत्कृष्ट विद्यार्थी छानी–छानी निजीले लगे, बाँकी रहेकालाई फकाइ/फुलाई सामुदायिकमा ल्याइयो, घरमा राम्रो शैक्षिक वातावरण भएका बालबालिका निजी बोर्डिङतिर गएपछि विद्यालयको उपलब्धि राम्रो हुने भयो । जुन विद्यालयको उपलब्धि कम हुन्छ, त्यसमा अभिभावकको विश्वास घट्ने नै भयो ।


सामुदायिक विद्यालयलाई कसरी प्रतिस्पर्धी बनाउन सकिएला ?

सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई राज्यले सबै क्षेत्रमा पहिलो अवसर दिने व्यवस्था गर्नु पर्छ । शिक्षासम्बन्धी नियमन गर्ने निकाय पनि कर्मकाण्डी हुनु भएन । विनि, स्रोतव्यक्ति विद्यालय निरीक्षण गर्न जाँदा प्रशासनिक निरीक्षण गरेर मात्र होइन, नवीन विधि प्रयोग गरी नमूना शिक्षण गरेर सहयोग गर्नेतर्फ लाग्नु पर्छ । शिक्षकलाई विद्यालयले कक्षामा आवश्यक पर्ने उपकरण तथा अन्य शिक्षण सामग्री उपलब्ध गराउन सकेमा निजीसँग सामुदायिक विद्यालयले सजिलै प्रतिस्पर्धा गर्न सक्छन् । यसका साथै विद्यालयको शैक्षिक वातावरण विद्यार्थीमैत्री हुनुपर्छ । निजीलाई गाली गर्नुको साटो सामुदायिक विद्यालय सुधारमा लाग्नु पर्छ । सामुदायिक राम्रो बन्दै गए निजी आफैं बन्द हुन्छन् ।


सामुदायिक विद्यालयको सुधारमा समुदायको कस्तो भूमिका रहला ?

सामुदायिक विद्यालयको सुधार गर्ने भनेकै समुदायले हो । आजभोलि धेरै सामुदायिक विद्यालयमा अभिभावक भेला गराउँदा पनि उनीहरुको उपस्थिति देखिँदैन । यो कार्यमा समुदाय नै नतातेसम्म शिक्षक केवल घडीको सुई जस्तो यन्त्रवत् चल्छ । दश बजे स्कूल आउँछ, साँझ ४ बजे घर फर्कन्छ । यसबाट कुनै उपलब्धि हुँदैन । यस आधारमा हेर्ने हो भने विद्यालय सुधार गर्ने भनेकै समुदायले हो भन्नुपर्ने हुन्छ । जनता भनेकै सरकार हो । समुदायले आपूm स्थानीय नियमन गर्ने सञ्चालक भएको बिर्सिएको छ । समूदायले चाहेमा पक्कै सामुदायिक विद्यालयको सुधार हुनेछ ।

सामुदायिक विद्यालयमा नेतृत्वको कमी भएको हो ?

सामुदायिक विद्यालयको नेतृत्व कमी भएको होइन । तहगत तालिम प्राप्त योग्य शिक्षकले नेतृत्व गर्नुभएको छ । बरु, हाम्रो इच्छाशक्ति कम भएको हुन सक्छ ।


शिक्षक तालिम कक्षाकोठामा पुगेको लाग्छ त ?

शिक्षकका तालिम कक्षा सुहाउँदो छ कि बोझिलो छ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ । तालिममा जे सिकिन्छ, त्यही कक्षाकोठामा लागू गर्नेभन्दा पनि कक्षाकोठामा पढाउने पाठले जे मागेको छ, त्यो अनुसार ढाले तालिमको उपयोग गर्नु पर्छ । शिक्षणमा आइसिटी प्रयोग गरी शिक्षण गर्ने भनेर तालिम लिएको शिक्षकले साधन–स्रोत नभएको विद्यालयमा शिक्षण गर्नु परेमा तालिम कक्षाकोठामा कसरी प्रयोग हुन सक्छ र ! तर पनि हाम्रो विद्यालयमा सम्भव भएसम्म तालिममा सिकेका, अन्य विद्यालयहरुबाट सिकोका, इन्टरनेटबाट सिकेका शिक्षण सीपहरु कक्षाकोठामा पु¥याउने प्रयास गरिएको छ ।


सामुदायिक विद्यालय सुधारको शुरुवात कहाँबाट गर्नुपर्ला ?

सुधार स–साना कमजोरी सुधार गर्न सकियो भने शिक्षामा सुधार हुँदै जान्छ । हाम्रा केन्द्र विद्यार्थी हुन् । तिनीहरुको सिकाइलाई प्रभावकारी बनाउने सिकाइ सहजीकरण र विद्यार्थीको उपलब्धिलाई बढाउन सकिने क्रियाकलापबाटै सुधारको शुरुवात गर्नु पर्छ । उनीहरुलाई सिकाइप्रति उत्प्रेरित गराउन सक्नु पर्छ । बालबालिकाको मन मस्तिष्कमा सिक्ने भोक जगाउन सकियो भने सुधारको शुरुवात त्यहीँबाटै हुन्छ ।


सिकाइ र भौतिक पूर्वाधारको कस्तो सम्बन्ध रहन्छ ?

सिकाइलाई भौतिक पूर्वाधारको सुप्रबन्धले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हाल शिक्षणका लागि उपयोग हुने विद्युतीय सामग्री प्रयोग गर्न बिजुली, प्रोजेक्टर, कम्प्यूटर, ल्यापटप र सामग्री प्रदर्शनका लागि उपयुक्त कक्षाकोठा शिक्षण सिकाइका लागि आवश्यक पर्छन् । यसकारण सिकाइ र भौतिक पूर्वाधारबीच निकटतम सम्बन्ध रहेको हुन्छ । तर, भौतिक पूर्वाधार नै सबै थोक होइन । इच्छाशक्ति महत्वपूर्ण हो ।

अन्य सामुदायिक विद्यालयहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

सामुदायिक विद्यालयमा शिक्षक आफैं घण्टी अनुसार समयको बचत गरी पूरा तयारीका साथ उद्देश्य बनाएर कक्षाकोठामा प्रवेश गर्ने र पूरा समय विद्यार्थी केन्द्रित विधिका माध्यमबाट शिक्षण गर्न सके अरु सुधार छिट्टै देखिनेछ । कक्षाकोठामा उत्साह बोकेर जाने शिक्षकले पक्कै पनि केही बालबालिकाको व्यवहारमा परिवर्तन ल्याउन आधार तयार पार्न सक्छ । त्यसैले, विद्यालयको शैक्षिक बालमैत्री, शिक्षण बालकेन्द्रित विधिमा, अतिरिक्त क्रियाकलाप सञ्चालन, विद्यार्थीका आनीबानी सुधार, आचारसंहिता उनीहरुबाटै अभिभावकका आचारसंहिता अभिभावकबाटै शिक्षकका आचारसंहिता शिक्षकबाटै बनाउन लगाउने र कार्यान्वयन गर्न लगाउने हो भने विद्यालयको शैक्षिक उन्नतिमा अवश्य परिवर्तन आउनेछ ।


यस विद्यालयको अबको योजना के छ ?

विद्यालयमा भर्नाका लागि विद्यार्थीको बढ्दो चाप ओइरिरहन्छ । अभिभावहरुलाई हात जोडेर तपाईँको बालबालिका अन्य स्कूलमा लैजानुस् भनेर अनुरोध गर्नु पर्छ । त्यसका लागि अब थप भौतिक बिस्तार गर्ने, शिक्षक दरबन्दी व्यवस्था मिलाउने योजना छ । शिक्षाको जिम्मेवारी अब स्थानीय निकायमा आएको छ । यसको अनुभूत हुने काम नगरपालिकाले हाम्रो जस्तो सामुदायिक विद्यालयलाई सहयोग गरेर पूरा गराउने योजना छ । यस वर्षदेखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्अन्तर्गत सिभिल सब ओभरसियर (१८ महिने कार्यक्रम) सञ्चालन गर्ने योजना छ ।

प्रस्तुति : रोशन क्षेत्री गाउँले


साभार : आजको शिक्षा साप्ताहिक

Comments: