काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलिएका देशहरुमा नेपाली विद्यार्थीहरुलाई वैदेशिक अध्ययन गर्न जान रोक लगाएको छ ।

मन्त्रालयले यही फागुन १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, इटली, इरान लगायतका कोरोना भाइरस प्रभावित देशहरुमा नेपाली विद्यार्थीलाई अध्ययन गर्न जान रोक लगाएको हो । अर्को सूचना जारी नभएसम्म ती देशका लागि अध्ययन अनुमति पत्र जारी नहुने मन्त्रालयले स्पष्ट पारेको छ ।

शिक्षा मन्त्रालयले यसअघि विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरुलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) उपलब्ध गराउदै आएकोमा ती देशहरुमा हाललाई एनओसी जारी नगर्ने भएको हो ।

साथै, विश्व स्वास्थ्य संगठनले अध्यावधिक गरेको पछिल्लो प्रतिवेदनको आधारमा अहिले सम्म कोरोना भाइरस बाट प्रभावित नभएका देशहरुमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरुलाई भने साविक बमोजिम नै अध्ययन अनुमतिपत्र दिने कार्य जारी रहने शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रतिकृया दिनुहोस्