२०७६ चैत्र २५ गते

पारि घर, वारि स्कुल

अन्तैबाट

झापा । पाठामारी जानकी आधारभूत विद्यालयमा ४ कक्षामा पढ्ने १२ वर्षकी ममताकुमारी गणेशको घर नेपाल होइन, सिमाना पारि छ । उनी पढ्नचाहिँ साइकल हाँकेर सीमावारि धाउँछिन् । सयौं थुंगा फूलका हामी... भन्दै प्रार्थना सकेपछि कक्षामा छिर्छिन् ।


उनीमात्र होइन, भारतसँग सीमा जोडिएको दक्षिण झापाको कचनकवल–५ पाठामारीको विद्यालयमा धेरै भारतीयका छोराछोरी पढ्छन् । जानकी आधारभूत र श्री आधारभूत गरी पाठामारीमा दुइटा स्कुल छन् । कविता र निकिता यादव दिदीबहिनी पनि जानकी स्कुल नै धाउँछन् । कविता कक्षा ८ मा र निकिता ७ मा पढ्छन् । ‘हाम्रो गाउँ नजिकको स्कुल भनेको पाठामारीकै हो,’ ममताकुमारीले भनिन्, ‘उताभन्दा यतै सजिलो छ ।’

सीमावर्ती बिहारको किसनगन्ज जिल्लाको घुविटा भन्ने सानो बजारमा निमावि तहसम्म मात्रै स्कुल छ । त्यसपछि थप पढ्न ठाकुरगन्ज हाइस्कुल पुग्नुपर्ने बाध्यता छ । घुविटा स्कुल पुग्न झन्डै एक घण्टाभन्दा बढी समय लाग्छ । फेरि मेची नदी तरेर जानुपर्ने समस्या त छँदै छ । ‘बर्खामा त पारिको स्कुल जानै सकिँदैन,’ ममताले सुनाइन्, ‘बरु यतै पढ्यो ढुक्क ।’ यी भारतीय विद्यार्थीहरू नेपाली राष्ट्रगान मात्रै गाउँदैनन् । नेपाली पाठ्यक्रमकै पुस्तकहरू पढ्छन् । जसका कारण सीमा क्षेत्रका यी विद्यार्थीले बीचमै कक्षा छाडेका उदाहरण पनि धेरै छन् ।

जसमध्ये एक हुन्– उदयकुमार गणेश (१४ वर्ष) । उनले कक्षा ४ सम्म जेनतेन पढे । तर ५ कक्षा पुग्न उनलाई धेरै सकस भयो । जसको खास कारण थियो, भाषाको समस्या । उनको घरमा कसैले नेपाली बोल्दैनन् । तर स्कुलमा बोल्न मात्रै हैन पढाइ नै नेपाली भाषामा भएपछि उनको बाल मस्तिष्कले थेग्न सकेन । अन्ततः स्कुल छाडे । उनी भन्छन्, ‘नेपाली भाषामा पढाइ हुन्थ्यो, बुझ्नै सकिएन ।’ उदयलाल जस्तै धेरै भारतीय विद्यार्थी अहिले बीचमै स्कुल छाडेर ‘वारिपारि’ गर्छन् ।

कतिपय भने ८ कक्षा पास गरेर थप अध्ययनका लागि पारि ठाकुरगन्जसम्म पनि गएका छन् । भारतीय नागरिक रूपलाल गणेशका अनुसार ८ कक्षा पास गरेपछि उतै डेरा बसेर पढ्नुपर्ने बाध्यता छ । ‘डेरा बसेर पढ्ने हाम्रो अवस्था छैन,’ रूपलाल भन्छन्, ‘त्यही भएर बीचमै पढाइ छाडेर व्यापार व्यवसायमा लाग्छन् ।’

श्री आधारभूत स्कुलका शिक्षक विजय हजामका अनुसार दुईवटा नेपाली स्कुलमा करिब ४० जना भारतीय विद्यार्थी पढ्छन् । उनका अनुसार गरिबी र भाषामा आउने समस्याका कारण धेरैले पढाइलाई निरन्तरता दिन सकेका छैनन् । ‘पढ्न भाषाको समस्या त छँदै छ’, उनले भने, ‘घरको आर्थिक अवस्था पनि कमजोर छ ।’

पर्वत पोर्तेलले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: