बाबुआमा सबै भन्दा पहिलो शिक्षक हुन, घर पहिलो विद्यालय हो । यो सबैले स्वीकार गरेको मान्यता हो । विद्यालयका पर्खाल भत्काउ,  किताव च्यातिदेउ, कलम भाँचिदेउ र प्रकृतिमा जाउ र सिक । विद्यालय चाहिदैन जसले जहाँपनि सिक्न सक्छ । यी प्रकृतिवादी दार्शनिक मान्यता र निर्विद्यालयीय मान्यता सबैले स्वीकार गरेका छैनन् ।  तर यो कोभिड–१९ को महामारीले शिक्षाको संरचनात्मक चिन्तनमा समेत धक्का दिएको छ । अब बालबालिका महिनौं विद्यालय र विश्वविद्यालयमा जाँदैनन् ।

अब विद्यार्थीले सिक्छन की सिक्दैनन् ? सिक्छन् भने कसरी सिक्छन् ? कस्ले सिकाउँछ ? के सिक्छन् ? कि पहिले सिकेको पनि बिर्सन्छन् ? केही आधुनिक शिक्षाविद्हरुले लामो समय विद्यार्थी विद्यालय गएनन् भने पहिले सिकेको पनि बिर्सन्छन् । विस्तारै विलोप हुँदै जान्छ भन्छन् । यसलाई उनीहरु सिकाइ क्षती (learning lost) भन्छन् । विस्मृतिको सिद्धान्तले पनि यहि भन्छ । यदि पहिले सिकेको कुरा व्यवहारमा उपयोग भएन वा त्यसले निरन्तरता पाएन अथवा  दोहोर्याइएन भने त्यो विस्तारै धमिलिदैँ (fading ) जान्छ । बन्दा बन्दी (lockdown) को समयमा सिकाइमा पूर्णविराम लाग्ने वा विलोप हुने भय आम अभिभावकमा छ । तर हरेक विपतले केहि अंश सकारात्मक पनि बोकेको हुन्छ । अहिलेको हाम्रो जिम्मेवारी भेलबाट बच्ने र दियोको सहाराले अध्यारोलाई चिर्ने हो । त्यसैले बालबालिका र वयस्कको सिकाइमा दियो के हो र कसरी त्यसको उपयोग गर्ने भन्ने विषयमा यो लेख केन्द्रित छ ।

मैले टोलका केही स्कुले बालबालिकालाई स्कुल जाँदा मज्जाकी घरमा बस्दा भनी सोधेको थिए । उनीहरुको जवाफ थियो–  बाहिर खेल्न पाएको भए घरमा धेरै मज्जा हुन्छ  । यसले के देखाउँछ भने बच्चा विद्यालयमा भन्दा घरमा धेरै रमाउँछन् । खेल्न धेरै मन गर्छन् । तर उनीहरुसँग जिज्ञासा थियो । कोरोना कसरी आयो ?  कहाँबाट आयो ? अब के हुन्छ ? बन्दा बन्दी किन गरेको ? गर्दा के हुन्छ नगर्दा के हुन्छ ? असर के हुन्छ ?  लगायतका दर्जनौं प्रश्न थिए । यसले के देखाउँछ भने बन्दा बन्दीले बालबालिकाको दिमाग बन्द भएको छैन बरु जिज्ञासा बढेको छ ।

मनोबैज्ञानिकहरु भन्छन् बच्चाको जिज्ञासा सिकाइको लागि मुख्य जग हो, बिउ हो, आधार हो । यहि उत्सुकता, जिज्ञासा वा सिकाइप्रतिको मोह नै अध्यारोलाई चिर्ने दियो हो । तर उनीहरुकिताव पढ्न चाहदैनन् । स्मरण गराएर कापीमा लेख्न मन गर्दैनन् । यदि उनीहरुलाई किताब रटान गर्न दिइयो, रटेको कुरा कापीमा ओकल्न लगाईयो भने उनीहरुमा सिकाइप्रति वितृष्णा जाग्छ । अनि घरनै जेल जस्तो लाग्छ । बाबु आमा आफन्त जेलर जस्ता लाग्न थाल्छ र आफुलाई कैदी सम्झन थाल्छन् । जोन हाल्टले भने जस्तो विद्यालय नभएर घर नै जेल हुन्छन् अनि जेलमा बसेर कसरी सिक्छन ?

के सिक्ने ?
सिकाइको सुरुवात कोरोना भाइरस बाटनै गर्नुपर्छ । यसमै सबैको जिज्ञासा छ । यो हो के ? भाइरस भनेको के हो ? संक्रमण कसरी हुन्छ  ? अरु भाइरस र यो भाइरसमा के फरक छ ? यस्तै भाइरस (अरुपनि) बाट कसरी बच्ने ? जस्ता प्रश्नबाट उत्तर खोज्न लगाउने । अन्य रोग र संक्रमणमा सामान्यीकरण गर्न लगाउने । अब विद्यालयको कोर्समा भएको विषय र उसले संकलन गरेको सूचनाका बारेमा तुलना गर्न लगाउने । यसो गर्दा  बालबालिकामा खोजी गर्ने सिपको विकास हुन्छ । आमसञ्चार र ईन्टरनेटबाट खोजी गरी तार्किकताको विकास गर्छन् । सूचना मात्र ग्रहण गर्ने नभएर ज्ञान, चिन्तन,  रचनात्मकता र सामान्यीकरण सीपको विकास हुन्छ । साथै स्वास्थ्यको बारेमा सिक्ने छन् । अभिभावकले पनि सिक्ने छन् । यहाँ साझा सिकाइ हुन्छ । अहिले चीनमा बालबालिकालाई स्वास्थ्य सम्बन्धी अनुसन्धानात्मक चेतको विकास गराउने अवसरको रुपमा प्रयोग गरिएको छ ।  अभिभावकलाई यसरी नै सिक्न र सिकाउन आह्वान गरेको छ चीनले ।

बन्दा बन्दी र कोरोना भाइरसकै विषयबाट सामाजिक विषय सिकाउन सकिन्छ । विपदमा राज्य किन चाहिदो रहेछ ?  यसको भूमिका के हुने रहेछ । सामाजिक संघसंस्थाको भूमिका के हुने रहेछ । मानिसले कसरी मानवताकालागि काम गर्नु पर्ने रहेछ । नागरिकको कर्तव्य कस्तो हुँदो रहेछ  ? मानिस कसरी परिवार, समाज, राष्ट र अन्तराष्टिय रुपमा बाँधिएको हुने रहेछ । नागरिक चेतनाको भूमिका कस्तो हुँदो रहेछ ? राज्य र सेवा प्रदायक संस्था बलियो हुन किन आवश्यक रहेछ ? निजीकरण हुँदा के हुने रहेछ । निजीले कसरी नाफा मात्रै खोज्छन् र अप्ठ्यारोमा धोका दिन्छन् । यसको सामाजिक राजनीतिक कारण के हो ?  हाम्रा अस्पताल धोकेवाज हुन की निजीकरणको चरित्र नै यस्तै हो ? यदि चरित्र नै यस्तै हो भने राज्यलाई बलियो बनाउन के गर्नु पर्छ ?  यस्तै पश्नहरुको उत्तर खोज्न लागाउन सकिन्छ । र अभिभावकले पनि यसरी चिन्तन गर्न जरुरी छ ।

यहिँ बाट नै राष्ट्रियता सिक्न र सिकाउन सकिन्छ । राष्ट्र भूगोलमात्र होईन भन्ने बुझाउनु पर्छ । किन अष्टेलिया, अमेरिका लगायतका देशले अन्य देशका नागिरकलाई सेवा दिन सकिदैन भने?  देश छोड्न आह्वान गरे ? अमेरिका र अष्टेलियाको सपना देख्ने र देखाउनेहरुमा स्वदेशकै सपना देखाउने अवसर पनि हो । यी घरमा छलफलका विषय बन्न सक्छन् । अर्थशास्त्र पनि यहि महामारी कै चर्चा गरेर सिकाउन सकिन्छ । श्रम र उत्पादनको सम्बन्ध कस्तो हुँदो रहेछ । उत्पादन र बजारको सम्बन्ध कस्तो हुने रहेछ ? स्थानीय उत्पादनको भूमिका कति बलसाली हुँदो रहेछ ? त्यो उत्पादनकालागि आफ्नो के भूमिका हुने रहेछ ? हामी खपतकर्ता मात्रै भएका छौँ की उत्पादन कर्ता पनि ? बजारको मनोपोलि हुँदा कसरी कार्टेलिङ् हुँदो रहेछ ? माग र पूर्तिको बिचमा कस्तो सम्बन्ध हुँदो रहेछ ?  कोर्र्समा पढेका विषयलाई यसरी व्यवहारिक प्रतिविम्बन दिन लगाउने गर्न सकिन्छ ।

विद्यालयमा पढेको गुरुत्वाकर्षणको नियम,  उत्तोलकको नियम,  शक्ति,  घर्षण आदि बारे घरमै उपलब्ध सामग्रीको प्रयोग गरी व्यवहारिक अभ्यास गर्न लगाउने । यसबाट भौतिक विज्ञान सिक्न सक्छन् । घर वरिपरिका झारपात,  बोटबिरुवा देखाएर बनस्पति विज्ञानका बारेमा स्कुलमा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उपयोग गर्न लगाउने । यी र यस्तै क्रियाकलापबाट विज्ञान सिकाउन र व्यवहारमा प्रयोग गर्न सिकाउन सकिन्छ ।

चीनमा अहिले बन्दा बन्दीको समयलाई चिनीया परम्परा सिकाउने अवसरका रुपमा प्रयोग गरिरहेका छन् । कन्फ्युसियनिज्म,  ताओईज्म आदिको बारेमा सिकाइदै छ । आफ्नो परम्परा मूल्य मान्यताका बारेमा सिकाइदैछ । धर्मसंस्कृतिको माध्यमबाट नैतिकता र मानवताको पाठ पढाईदैछ । यसका शिक्षक अभिभावक बनेका छन् । नेपालमा पनि आफ्ना धर्मसंस्कृति, मूल्यमान्यता, आचरण सिकाउने अवसर पनि हो । कथाको माध्यमबाट आफ्ना अनुभव,  पारिवारिक इतिहास, नैतिक आचरण आदि सिकाउन सकिन्छ । मूल्य मान्यतालाई जीवनसंग जोडेर सिकाउन सकिन्छ । यसले बालबालिकामा मौलिक संस्कृतिको चेतना बढ्ने छ ।

यी उल्लेखित विषय ठूलादेखि साना बालबिलकालाई उनीहरुको उमेर र उचि अनुसार सिकाउने हो । सबै विषय सबैकालागि कामयावी नहुन सक्छन् । किताब पढ्ने मात्रै पढाइ र सिकाइ होइन । किताबमात्रै त बच्चाले पढ्नै मान्दैनन् । उनीहरुको चौतर्फी विकासकालागि यी घरायसी अभ्यास उपयोगी हुन्छन् । यसका अतिरिक्त गाँउघरमा आफुसंगै बच्चालाई पनि सक्दो काममा लगाउनुपर्छ । कामँंगै जिज्ञासा जगाइदिने गर्नु पर्छ खोजी त आफै गर्छन् । ठाउँ अनुसारका खेल खेल्न दिनु पर्छ । परिवार भित्रै खेलका माध्यमबाट विज्ञान, गणित, भाषा आदि सिकाउन सकिन्छ । शहरमा बस्नेहरु बढि टिभि र मोबाईलमा झुम्मिने गर्छन् । यसमा हावादारी कार्टुन भन्दा रामायण,  महाभारत,  कृष्ण चरित्र आदि हेर्न दिनु पर्छ । यसले ज्ञान र आचरण सिक्न सघाउँछ ।

बालबालिकाका अगाडि गर्न नहुने
बालबालिकालाई नहपार्ने, यसो नगर भन्ने भन्दा यसो गर भन्ने । उनीहरुको अगाडि टिभि हेरेर सरकारले यो गरेन,  यो मन्त्रीले यो गर्न सकेन, यो पार्टीले फलानो गरेन भनि आलोचना नगर्ने । यसले बालबालिकामा नकारात्मकताको विकास हुन्छ । राज्य विरोधी मानसिकता बढ्छ । अविश्वास बढ्छ । हामी पनि सरकारका एक अंग हौँ भन्ने नागरिक चेतना मर्छ । आलोचना गर्न सिकाऊछ तर समालोचनात्मक चिन्तन मर्छ । उनीहरुलाई स्वतन्त्र विश्लेषण गर्न दिनुपर्छ ।

यो महामारीको बेदना, पीडा, समस्या छ तर यसलाई अवसरका रुपमा पनि उपयोग गर्नु पर्छ । अनौपचारिक र निर्विद्यालयीय पद्धतीबाट सिकाउने तमाम उपाय छन् । अरु अनलाइन, स्वअध्ययन सामग्री आदि सहायक मात्रै हुन । यिनीहरुलाई पनि जोडे राम्रै हुन्छ ।  अभिभावक पनि फुर्सदिला भएको कारण सामुहिक सिकाइमा लागौं । यदि हामी अभिभावकलाई आधा घण्टा बच्चासँग पढ्न र सिक्न सकस हुन्छ भने उनीहरुलाई झन् कति गाह्रो हुन्छ होला । त्यसैले यो समय सामुहिक सिकाइको हो । व्यवहारिक प्रयोगको हो । रचनात्कताको हो । यहि नै सिकाइ क्षति  रोक्ने माध्यम हो ।

प्रतिकृया दिनुहोस्