२०७६ मंसिर ७ गते

जनवादी/समाजवादी शिक्षाको नेपालीकरण सम्भव छ ?



वाई. पी. आचार्य


नेपालका कम्युनिस्ट पार्टीहरू लामो समयदेखि जनवादी शिक्षाको वकालत गर्दै आएका छन् । यो शिक्षाको बारेमा वाकयुद्ध त बढी नै भयो, तर लेख्य बहस कम भयो, प्राज्ञिक कर्म नगन्य मात्रामा भयो । यसमा राजनीतिक रङ लागेकै कारण साझा विमर्षले त स्थान नै पाएन । परिणामतः कम्युनिस्टहरूले यसलाई पेवा ठाने, गैह्रकम्युनिस्टहरूले भूत माने । अन्ततः यसले आफ्नो असली रुप धारण गर्न नै सकेन । राजनीतिक व्यवस्थाका हिसावले जनवादी र समाजवादी व्यवस्थामा भिन्नता छ तर शैक्षिक सार भने निकट छ । साथै नेपाली समाजको चरित्रलाई विश्लेषण गर्दा आजको शिक्षाको दिशा समाजवादी हुनु पर्दछ तर शिक्षाको जनवादीकरणको विकास पनि भैनसकेको अवस्था रहेकोले यहाँ समाजवादको दिशा ग्रहण गरेको जनवादी शिक्षाको आवश्यकतामा जोड दिइएको छ ।


सबैभन्दा पहिला जनवादी/समाजवादी शिक्षा कम्युनिस्टहरुको मात्रै हो भन्ने जडसुत्रीय चिन्तन हटाउनु पर्छ । यो साझा हो । ज्ञान कसैको पेवा होइन, मानव प्राणीको विकसित मष्तिस्कको उच्चतम परिणाम हो । यस शिक्षामा माक्र्सवादको रस जवर्जस्ति पिलाउने होइन, नेताको गुणगान गाउने होइन, क्रान्तिको ध्वास कोचाउने मात्रै होइन । यसमा जीवन सिकाउने हो, जीउने कला सिकाउने हो, स्वतन्त्रता सिकाउने हो, सशक्तिकरण गर्ने हो, अधिकार खोज्न सिकाउने कर्तब्य पुरा गर्न हौसाउने हो । अरुको सम्मान गर्न प्रेरित गर्ने हो । राष्ट्र, काम र जनतालाई माया गर्न सिकाउने हो । त्यसैले यो शिक्षा आम जनताको हो पार्टी विशेषको होइन ।

विचारधारात्मक धारः विचारधारात्मक रुपमा जनवादी/समाजवादी शिक्षा माक्र्सवाद सँग निकट छ । तर यसले माक्र्सवादलाई जीवन प्रर्यन्त डग्मा मान्दैन, अध्ययनको विधि मान्छ । भौतिकता, द्वण्द्ववाद, वर्गीय दृष्टिकोण आदिलाई स्वीकार गर्छ । सिद्धान्ततः यो शिक्षाले शिक्षा श्रमसँग जोडिनु पर्छ भन्छ । विद्यार्थीमा राजनीतिक सचेतना र समालोचनात्मक दृष्टिकोण विकास गराउनु पर्छ भन्छ । अधिकार र कर्तव्य प्रति सचेत गराउनु पर्ने कुरामा जोड दिन्छ । पुनरावृति होईन सृजना गर्नु पर्छ भन्ने मान्यता राख्छ । जनज्ञान, जनसीप र जनप्रविधिलाई प्राथमिकता दिन्छ । जनताबाट सिक्नु पर्छ भन्छ । वैज्ञानिक विश्वदृष्टिकोण सिकाउनु पर्छ भन्छ ।


श्रमसँग जोडिएको शिक्षाः माक्र्सवादी शिक्षाको सार पक्ष नै शिक्षा र श्रमको एकत्व हो । श्रमले एकातिर उत्पादनमा सघाउछ, चरित्र निर्माण गर्छ, सामन्ति संस्कृतिको अन्त्य गर्छ अर्कोतिर यसले उद्विकासमा सघाउछ । यस्तो श्रम शारीरिक र मानसिक दुबै हुन सक्छ । यो उमेर अनुसार फरक फरक हुन्छ । नेपालमा शिक्षालाई श्रमसँग जोड्न निम्न कार्य गर्न सकिन्छ ।


१) सकेसम्म शिक्षण संस्थाको आफ्नै फार्म खोल्ने
२) आफ्नै नभए गाँउमा वा अन्य व्यावसायिक फार्ममा जाने
३) कलकारखानामा जाने त्यहाँ प्रयोग भएको प्रविधि, विज्ञान बुझ्ने सँगै त्यसलाई चलाउन सिकाउने, शिक्षण संस्था र कलकारखानाको सम्बन्ध स्थापित गर्ने
४) परम्परागत कार्यस्थल जस्तै फलामका भाँडा बनाउने, कपडा सिलाउने, सुनका गहना बनाउने, माटाका भाँडा बनाउने आदि व्यक्तिकोमा जाने र उनीहरूसँगै काम गर्न लगाउने
५) गृहकार्य दिँदा किताब सार्न होइन घर वा समाजमा काम गर्न दिने त्यसको ब्रिफिङ स्कुलमा आएर गर्न लगाउने
६) कर्णालीको विद्यार्थीलाई स्याउ, यार्सागुम्वा, जडिबुटि सम्बन्धि काम गर्न लगाउने
७) तराईको विद्यार्थीलाई धान, तरकारी खेती गर्न लगाउने, पुर्वको विद्यार्थीलाई चिया, अलैची खेती सम्बन्धी काम गर्नै पर्ने भन्ने, हिमालकोलाई पर्र्यटन सम्बन्धी काम दिने, कसैलाई निर्माण कार्य गर्न लगाउने आदि ।

जनताबाट सिकाइःजनताबाट सिक्ने कुरा नै जनवादी/समाजवादी शिक्षा बुर्जुवा शिक्षा भन्दा फरक हुने आधार हो । बुर्जुवाहरू मुलतः गरिव, किसान, मजदुर पछाडि परेका जनतालाई अशिक्षित मान्छन्, उनीहरूलाई पढाउने भन्छन् तर उनीहरुबाट सिक्ने भन्दैनन् । जनवादी शिक्षाले उनीहरूलाई ज्ञानको स्रोत मान्छ । माओले यिनै किसान, तिनीहरू बस्ने समाज, तिनीहरूले काम गर्ने कार्यस्थललाई विद्यार्थीको प्रयोगात्मक कक्षा गर्ने गराउने गुरु र प्रयोगशालाको रुपमा ब्याख्या गर्छन् । चीनमा यस्तै अभ्यास गरे । नेपालमा पनि दलित, जनजाति, अल्पसंख्यकहरूबाट ज्ञान, सीप, कला, प्रविधि सिक्न सकिन्छ । जस्तै जुत्ता बनाउने ब्यक्तिबाट त्यो कला सिक्ने, त्यसलाई आधुनिक बनाउने, कपडा सिलाउनेबाट सिलाउने कला सिक्ने, दही जमाउने ब्यक्तिबाट दही जमाउने प्रविधि सिक्ने आदि । यहि निर धारणामा परिबर्तन ल्याउन जरुरी हुन्छ कि सीप हुनेहरु अशिक्षित होइनन्, तर पढ्न लेख्न पनि जाने राम्रो हुन्छ भन्नु पर्छ । उनीहरुलाई सिकाउने मात्र होइन उनीहरुबाट सिक्ने पनि हो ।

गरिखाने शिक्षाः जनवादी/समाजवादी शिक्षाले छिटो काम पाउने, खानलाई दाम आउने शिक्षा खोज्छ । वर्तमान नेपाली शिक्षा टाउकोले टेकेर हिडेको छ । साधारण शिक्षा बढी छ ब्यावसायिक र प्राविधिक कम छ । हामीलाई चीनमा खालिखुट्टे डाक्टर भएजस्तो जनशक्ति बढी चाहिएको छ । थोरै लगानी गरेर पढ्ने पढेपछि काम पाउने वा आफै रोजगारी सृजना गर्न सक्ने शिक्षा दिनु पर्छ ।

यसका लागि निम्न काम गर्न सकिन्छ
१) उत्तरकोरियामा जस्तो तल्लो तह देखि बहुप्राविधिक चरित्रको शिक्षा समावेस गर्ने यसमा ठूला प्रविधि होइन दैनिक घरायसी जीवनमा प्रयोगमा आउने सामान्य प्रविधि सिकाउन सकिन्छ ।

२) आधारभुत तहपछि दुई मोडमा–साधारण र प्राविधिक शिक्षा दिने ।

३) उच्च शिक्षामा साधारण शिक्षा घटाएर अहिले भएका क्याम्पस र विश्वविद्यालयलाई प्राविधिक र व्यावसायिक केन्द्रका रुपमा स्थापित गर्ने ।

४) परम्परागत रुपमा चलेका व्यवसाय जस्तै भक्तपुरे किसानको खेती गर्ने र दही जमाउने कला, सुनारको गहना बनाउने कला, थान्का चित्र बनाउने कला आदिलाई आधुनिकतासँग जोड्न सिकाउने । डोको बुन्नेलाई हस्तकला सिकाउने र तिनीहरुलाई औपचारिक प्रमाणपत्र दिने व्यवस्था गर्ने । उपनिषदले भनेजस्तो अपरा विद्यालाई प्रमाणीकरण गर्ने ।

५) उच्च शिक्षा योग्यताक्रम अनुसार गर्ने, बजारको माग अनुसार उच्च शिक्षाको कोटा निर्धारण गर्ने । सबैले उच्च शिक्षा पढ्नै पर्छ भन्ने छैन । सबैलाई उच्च शिक्षा पढाएर बौद्धिक बेरोजगार उत्पादन गर्ने होइन, सीप सिकाएर काममा पठाउने हो ।

शिक्षाको दायित्वः समाजवादी देशहरुले शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिएका छन् । तर भियतनाममा नाफा नलिने निजी क्षेत्रले पनि विद्यालय संचालन गर्न सक्छ । शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिंदैमा त्यो समाजवादी हुन्छ भन्ने छैन जस्तै नर्बे समाजवादी होइन, तर शिक्षाको सम्पुर्ण दायित्व राज्यले लिएको छ । नेपालमा २०२८ को नयाँ शिक्षा पद्दति समाजवादी थिएन । त्यसैले दायित्वसंँग जोडिएको मूल कुरा एउटा–त्यो शिक्षाले कसलाई केन्द्रमा राख्छ, कसलाई सहयोग पुर्याउछ भन्ने हो दोस्रो–गुणस्तरीयता हो ।

जनवादी/समाजवादी शिक्षाले सबै जनताको न्यायसंगत पहुँच खोज्छ र उच्च गुणस्तर पनि । नेपालको शैक्षिक अनुभव हेर्दा निजीले सबैको न्यायसंगत पहुँच दिएन, सरकारीले गुणस्तरीयता दिएन । नेपालमा पूर्ण सरकारी बाँसबारी छाला जुत्ता, जनकपुर चुरोट कारखाना, साझा यातायात असफल भए । आयल निगम घाटामा गयो । सरकारी शिक्षाको गुणस्तर खस्कियो । यी उदाहरणले पूर्ण सरकारी नियन्त्रणको असफलता देखाउँछ । तर यो आफैमा असफल प्रणाली भने होइन । चीन, क्युवा, उत्तरकोरीया, नर्वे, अमेरिका आदिमा सफल छ । यसले के देखाउछ भने प्रणाली भनेको कन्टेक्सचुयल हुन्छ । हामीले अरुको अभ्यासमात्रै होइन हाम्रोे अवस्था बुझ्नु पर्छ ।


त्यसैले नेपालको आधारभुत तहको शिक्षा अनिवार्य र निशुल्क भनिएकोले यो पुर्णतः राज्यको दायित्वमा आउनु पर्छ । यसले सबैलाई न्यायसंगत पहुँच दिनेछ । तत्कालिक रुपमा आधारभुत तह भन्दा माथि सरकारी र सहकारी मोडेलमा जानु पर्छ । दीर्घकालमा सरकारीकरण गर्दै जानु पर्छ ।


तत्कालकालागि उच्च शिक्षामा निम्न तरिकाको व्यवस्थापन गर्नु उपयुक्त हुन्छ ।


१) राज्यले देशको समग्र जनसंख्यालाई निश्चित सुचकको आधारमा चार वटा वर्गमा विभाजन गर्ने—अति गरिव वर्ग, निम्न गरिव वर्ग, मध्यम वर्ग र उच्च धनी वर्ग ।
२) यिनीहरूको स्पष्ट पहिचान हुने गरी कार्ड उपलब्ध गराउने जसमा क, ख, ग, घ गरी कोर्ड राख्ने ।
३) विभिन्न विधामा उच्च शिक्षा अध्ययन गर्नकालागि विद्यार्थी छनौट गर्न एक अधिकार सम्पन्न स्वतन्त्र निकाय निर्माण गर्ने । यसले योग्यताक्रम अनुसार निश्पक्ष रुपमा विद्यार्थीको छनौट गर्ने छ ।
४) छनौट भएका विद्यार्थी यदि क वर्गको छ भने उसलाई शतप्रतिशत निःशुल्क पढाउने, यदि ख वर्गको भए पचास प्रतिशत छुटमा पढ्न दिने, ग वर्गको भए पच्चिस प्रतिशत छुट दिने र घ वर्गको भए शतप्रतिशत शुल्क तिर्नु पर्ने व्यवस्था गर्ने । अथवा यहि पहिचानकै आधारमा शैक्षिक लोन उपलब्ध गराउने ।


आम शिक्षाः जनवादी शिक्षाको आत्मा नै आम शिक्षा हो । शिक्षामा आम जनताको न्यायसंगत पहुँच स्थापित गर्न निम्न कार्य गर्न सकिन्छ ।


१) आधारभुत शिक्षा अनिवार्य र निशुल्क गर्ने । यसलाई राज्यको जिम्मामा ल्याउने । किताब, कापि, कलम, डे«स, खाजा निशुल्क गर्ने । अति गरिबको पहिचान गरि अभिभावकलाई प्रोत्साहन भत्ता दिने । बच्चा विद्यालय नपठाए कार्बाहि गर्ने । बच्चा विद्यालयमा ल्याउन शिक्षक र पार्टी कार्यकर्ता परिचालन गर्ने । कुनै पनि पार्टी खोल्दा उसको शैक्षिक दायित्व तोकिदिने पुरा नगरे पार्टी खारेज गरिदिने ।
२) आंशिक विद्यालय खोल्ने–आफ्नो समय मिलाएर काम गर्दै पढ्न पाउने छन् ।
३) घुम्ति विद्यालय संचालन गर्ने–विद्यालय नै कार्यस्थलमा पुग्नेछन् ।
४) अनलाइन र दूर शिक्षाको व्यवस्था गर्ने ।
५) जनताको आवश्यकता अनुसारको लचक पाठ्यक्रम पढाउने ।


माटोले मागेको शिक्षाः कृषि, जडिबुटी, बन, जलस्रोत, प्रर्यटन, खनिज नेपालका सम्पत्ति हुन । यीनिहरुको सम्वर्धन, विकास र सदुपयोग गर्ने शिक्षाको जरुरी छ । नेपालीको जीवन दर्शनको आधार माक्र्सवाद भन्दा पूर्वीय दर्शन हुन । त्यसैले पूर्वीय दर्शनलाई उपेक्षा गर्न मिल्दैन, माक्र्सवादी विज्ञानलाई छोड्न पनि मिल्दैन, यीनिहरूलाई जोड्नु पर्ने हुन्छ ।


विकाससँग जोडिएको शिक्षाः विकास बहुआयामिक प्रकृया हो जसमा सामाजिक, सास्कृतिक, राजनीतिक, मानवियका साथसाथै आर्थिक आयामहरु समाहित हुन्छन् । यी सबै पक्षलाई एकैसाथ अगाडी लैजान सक्ने शिक्षा जरुरी छ । यसकालागि शिक्षा उत्पादन संग जोडिनु पर्छ, यो राजनीतिक स्वतन्त्रताको कडी बन्नु पर्छ, शसक्तिकरणको साधन बन्नु पर्छ, छनौटको दायरा फराकिलो बनाउने माध्यम बन्नु पर्छ । यसले स्थानीय र विश्वव्यापी ज्ञानलाई जोड्नु पर्छ ।


शिक्षण विधि र मूल्याङ्कन प्रणालीः जनवादी शिक्षाले अनुभव केन्द्रित शिक्षण विधि खोज्छ, बंैकिङ्ग धारणाको विरोध गर्छ । यो शिक्षाको मुख्य उद्देश्य बोर्ड्युले भनेजस्तो पुनरावृत्ति होइन, सृजना गर्ने हो । सृजना गर्नका लागि विद्यार्थीले रुसोले भनेजस्तो प्रकृतिबाट सिक्नु पर्छ, डिवेले भने जस्तो क्रियाकलाप गरेर सिक्नु पर्छ, पेट्रिकले भने जस्तो परियोजना कार्यबाट सिक्नु पर्छ, भिगोत्स्कीले भनेजस्तो आफै ज्ञान निर्माण गर्नु पर्छ । त्यस्तै माक्र्सले भने जस्तो श्रम गरेर सिक्नु पर्छ, माओले भने जस्तो जनताबाट सिक्नु पर्छ, समालोचनात्मक विधिद्वारा सिकाउनु पर्छ । प्रौढ शिक्षाकालागि फ्रेरेले भने जस्तो रिफ्लेक्ट विधिद्वारा सिकाउनु पर्छ । हामीले यी सबै काम गर्न सकिन्छ, मात्र प्रतिबद्धता भए पुग्छ । मूल्याङ्कन निरन्तर र उत्पादक क्षमताका आधारमा गर्नु पर्छ ।

माक्र्सवाद गतिसिल छ, यसको प्रयोग वस्तुगत अवस्थाले निर्धारण गर्छ । माक्र्सवाद घोकाउदैमा मात्रै त्यो जनवादी÷समाजवादी शिक्षा हुँदैन । जनवादी/समाजवादी शिक्षा साझा शैक्षिक प्रणाली हो, कुनै पार्टी विशेषको मात्रै होइन । यो शिक्षाले सापेक्ष स्वतन्त्रताको मूल्यलाई आत्मसात गर्छ, प्रतिष्प्रर्धामा विश्वास गर्छ, गतिशिलतामा जोड दिन्छ ।

यो जनताको शिक्षा हो, जनज्ञानमा आधारित हुन्छ, जनताद्वारा ब्यवस्थापन गरिएको हुन्छ । यसले स्थानीय विशेषतालाई आधार मान्छ, विश्वव्यापीकरणलाई आत्मसात गर्छ सो अनुसारको जनशक्ति उत्पादनमा केन्द्रित हुन्छ । वैज्ञानिकता, राष्ट्रियता र जनवाद यो शिक्षाका आदर्श हुन् । यसले कुनै पनि प्रकृतिको अधिनायकवाद मान्दैन, यो आफैमा प्रजातान्त्रिक चरित्रको हुन्छ । यो त्यस्तो फूलबारी हो जहाँ सबै प्रकारका फूलहरु उम्रन, फक्रन र फुल्न सक्छन् । त्यसैले यसको प्रयोग जसले गरेपनि हुन्छ ।

 

 

तस्विरहरु : इन्टरनेट

 

 

Comments: